७ बैशाख २०८१, शुक्रबार

अन्तत: रिहा भए चार्ल्स शोभराज, अध्यागमन विभाग लगियो


चार्ल्स शोभराज फाइल फोटो

काठमाडौँ । अन्तत: ‘सिरियल किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई आज रिहा गरेर अध्यागमन विभाग लगिएको छ । १९ वर्ष २ महिना केन्द्रीय कारागार जेल जीवन बिताएर शोभराज आज छुटेका हुन् ।

हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका फ्रेन्च नागरिक शोभराजलाई केन्द्रीय कारागार सुन्धाराबाट हिजै अध्यागमन विभाग लैजाने तयारी गरिएपनि अन्तिममा आएर उनलाई त्यही राखिएको थियो ।

अध्यागमन विभागले उनलाई राख्ने अलग्गै ठाउँ नभएको जानकारी दिएपछि केन्द्रीय कारागारले उनलाई बिहीबार अन्तिम समयमा आएर रिहा गरिएको थिएन ।

हिजै रिहा गर्ने भनेर कारागारको अस्पतालमै शोभराजको स्वास्थ्य जाँच भइसकेको थियो । शोभराज बिरामी भएकाले अलग्गै ठाउँ नरहेकोले विभागले विभिन्न रोगका बिरामी रहेकाले अन्य मानिसलाई राख्ने कोठामा राख्न नमिल्ने जानकारी कारागारलाई दिएको थियो ।

उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसेका थिए । अध्यागमन विभागले राख्ने ठाउँ नभएको भनेपछि शोभराज भोलि मात्रै कारागारबाट रिहा गरिएको थिएन ।

सर्वोच्च अदालतले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई छाड्न आदेश दिएको थियो ।

न्यायाधीशद्वयको संयुक्त इजलासले शोभराजलाई कैदबाट मुक्त गर्न र आदेश दिएको १५ दिनभित्र उनलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको थियो ।

सर्वोच्चको आदेशमा ज्येष्ठ नागरिकले पाउने सुविधा दिएर छाड्न भनिएको छ । ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । शोभराजलाई रिहा गर्न भन्दै २०७७ पुसमै बन्दी प्रत्यक्षीकरण रिट परेको थियो ।

शोभराजको तर्फबाट अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा अदालतले निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानूनप्रदत्त अधिकार अनुकूल नदेखिएको व्याख्या गरेको छ ।

आदेशमा शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको उल्लेख गरिएको छ ।

नेपालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका थिए ।

२८ मंसिर २०३२ मा मारिएका अमेरिकी नागरिक कोन्नी र त्यसको तीन दिनपछि मारिएका लरेन्ट दुईको हत्या अभियोगमा शोभराज केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेका थिए ।

शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा शृंखलाबद्ध भएका हत्यामा संलग्न रहेका थिए । शोभराज २०६० साल असोज २ गते काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !