७ बैशाख २०८१, शुक्रबार

आजै रिहा हुने भनिएका चार्ल्स शोभराजलाई किन कारागारमै राखियो ?


चार्ल्स शोभराज फाइल फोटो

काठमाडौँ । ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज आज रिहा नहुने भएका छन् । आजै थुनामुक्त हुने भनिएका शोभराज किन रिहा भएनन् ? भन्ने चासो बढेको छ ।

शोभराजलाई केन्द्रीय कारागार सुन्धाराबाट आजै अध्यागमन विभाग लैजाने तयारी गरिएपनि अन्तिममा आएर उनी रिहा हुन सकेकन् । हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका फ्रेन्च नागरिक शोभराज आज बिहीबार केन्द्रीय कारागार सुन्धारामै रहने भएका हुन् ।

अध्यागमन विभागले उनलाई राख्ने अलग्गै ठाउँ नभएको जानकारी दिएपछि केन्द्रीय कारागारले उनलाई बिहीबार अन्तिम समयमा आएर रिहा नगरेको हो । आजै रिहा गर्ने भनेर कारागारको अस्पतालमै शोभराजको स्वास्थ्य जाँच भइसकेको थियो ।

शोभराज बिरामी भएकाले अलग्गै ठाउँ नरहेकोले विभागले विभिन्न रोगका बिरामी रहेकाले अन्य मानिसलाई राख्ने कोठामा राख्न नमिल्ने जानकारी कारागारलाई दिएको छ । उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्ने भएका छन् । अध्यागमन विभागले राख्ने ठाउँ नभएको भनेपछि शोभराज भोलि मात्रै कारागारबाट रिहा हुने भएका हुन् ।

सर्वोच्च अदालतले शोभराजलाई थुनामुक्त गर्न हिजो आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले हिजो केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई छाड्न आदेश दिएको थियो ।

न्यायाधीशद्वयको संयुक्त इजलासले शोभराजलाई कैदबाट मुक्त गर्न र आदेश दिएको १५ दिनभित्र उनलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको थियो ।

नेपालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका थिए ।

२८ मंसिर २०३२ मा मारिएका अमेरिकी नागरिक कोन्नी र त्यसको तीन दिनपछि मारिएका लरेन्ट दुईको हत्या अभियोगमा शोभराज केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेका थिए ।

शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा शृंखलाबद्ध भएका हत्यामा संलग्न रहेका थिए । शोभराज २०६० साल असोज २ गते काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !