१२ बैशाख २०८१, बुधबार

रोल्पामा जीप दुर्घटना : एकै घरका दाजुभाइसहित ३ जनाको मृत्यु, १२ जना घाइते


रोल्पामा जीप दुर्घटना

रोल्पा । रोल्पा जिल्लामा जीप दुर्घटना हुँदा एकै घरका दाजुभाइसहित ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका-४ सेवाकेन्द्र नजिकै जुगेखोलामा आज बुधबार दिउँसो जीप दुर्घटना भएको हो ।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सुलिचौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जीप सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको हो । जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङको घोराही उपमहानगरपालिकाका-६ का ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णुप्रसाद रिजाल र दाङको राप्ती गाउँपालिका-१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १२ जनामध्ये सामान्य घाइते ५ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र गम्भीर घाइते ७ जनालाई मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !