१३ बैशाख २०८१, बिहिबार

गुल्मीमा पहिरोले ६ घर परिवारका २० जना विस्थापित


बागलुङमा पहिरा फाइल फोटो

गुल्मी । बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार ६ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पुर्याएको छ ।

विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ निवासी मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

त्यसैगरी पहिरोले गुल्मीदरबार–७ का केरसिंह कामी, सिता विक र चन्द्रकोट गाउँपालिका–४ डम्बरबहादुर सुवेदी, शान्ता नेपाली र विवा नेपालीको घर उच्च जोखिममा परेको छ । विस्थापित परिवारले तत्कालका लागि आफन्त र छिमेकीको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोको जोखिमका कारण विस्थापित बनेकाहरूलाई स्थानीय पालिकाको तर्फबाट पनि समन्वय गरी उनीहरूको व्यवस्थापनका लागि पहल गरिरहेको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए ।

विस्थापितहरूलाई सुरक्षित आवासको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । लगातारको वर्षाका कारण जिल्लामा विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको आंकलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !