१३ बैशाख २०८१, बिहिबार

मनास्लु हिमपहिरो (अपडेट) : १ जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते


मनास्लु हिमपहिरो

काठमाडौँ । गोरखा जिल्लाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा सोमबार अपरान्ह १२ बजे हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको हो भने १५ जनाभन्दा धेरै घाइते भएको प्रहरीले बताएको छ ।

हिमपहिरो परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यु भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालि स्रोतले जनाएको छ ।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका ५०६ जनाले आरोहण अनुमति लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !