७ बैशाख २०८१, शुक्रबार

झापामा कार दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते


झापामा कार दुर्घटना

झापा । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् ।

मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बा१४च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

कार दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको र बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

घाइते भई अस्पतालमा उपचाररत मोरङ सुन्दर हरैचा–६ का ४० वर्षीया रीता चौधरी, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका– ८ का २७ वर्षीय तेजन चौधरी, धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय विविसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेका उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !