१२ बैशाख २०८१, बुधबार

बाहिर निस्कन नदिएपछि मानवअधिकार आयोगको टोली जबराको निवासमा


जबराको निवासको गेटमै सरकारको तालाबन्दी

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बालुवाटारस्थित सरकारी निवासको गेटमै सरकारले तालाबन्दी गरेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा पुगेको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरा बाहिर निस्कन नदिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली छानबिनको लागि भन्दै जबराको निवासमा पुगेको हो । जबराले राज्यले आफूलाई नजरबन्दमा राखेको र दुर्घटना भए यसको जिम्मा सरकारले लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफू सर्वोच्च जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरेर जबरालाई सुरक्षाकर्मीले बाहिर निस्कन दिएका छैन । यस्तै जबराको निवासमा प्रहरीको संख्या बढाएर निगरानी गरेको छ ।

उनी बाहिरिने गेटमै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले निवासमा प्रवेश गर्ने र बाहिरिनेलाई पनि सामान्य सोधपुछ गरिरहेको बताइएको छ । सरकारले निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन नेपाल प्रहरीलाई समेत निर्देशन दिएको छ ।

आज बिहान ११ बजे निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत आउने सूचना पाएपछि सरकारले प्रहरी प्रधान कार्यालयलाई आज आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

जबराले भने आफूमाथि लागेको महाभियोग निष्क्रिय भइसकेकाले आजदेखि सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्किने बताएका छन् । जबराले आफूमाथि छानबिन गरिरहेको संसदको कार्यकाल हिजो रातिदेखि सकिएकोले महाअभियोग स्वत: निष्क्रिय भएकाले आफू फर्किन लागेको सर्वोच्च प्रशासनलाई हिजो शनिबार नै जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !