१३ बैशाख २०८१, बिहिबार

चौतर्फी आलोचनापछि अन्तत: रिहा भए पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्ड गुरुङ


शेरजंग गुरूङ र रवि लामिछाने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लागेर थुनिएका सुरक्षा गार्डलाई रिहा गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा रिहा गरिएको बताए ।

चौतर्फी चर्को आलोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रहरी हिरासतमा रहेका गरूडलाई प्रक्रिया पुर्याएर रिहाइ गर्न निर्देशन दिएका थिए ।

गुरुङसँग जिल्ला प्रशासनले बयान पनि लिएपछि प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका छन् ।

यस्तै पर्यटनमन्त्री श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड गुरुङलाई थुनामुक्त गर्न गर्न गृह मन्त्रालयलाई आग्रह गरेका थिए । मन्त्री श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमार्फत गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकाले थुनामुक्त गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेका थिए ।

यद्यपि पर्यटनमन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो । शेरजंगकी पत्नी लक्ष्मीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !