१३ बैशाख २०८१, बिहिबार

भारतीय स्थल सेनाध्यक्ष पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै


मनोज पांडे काठमाडौँमा

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाको विमानमार्फत उनी पाँच सदस्यीय भ्रमण दलका साथ हिजो नेपाल आएका हुन् ।

भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे शितल निवासमा एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति भएकोले नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लगिएको हो ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

विसं २०२६ मा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी पाएका थिए । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी ग्रहण गरिसकेका छन् । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।

उनको पाँच दिवसीय भ्रमणका अवसरमा सेनाध्यक्ष पांडे सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण, सम्मान गारत निरीक्षण, वृक्ष रोपण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्री हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रियालगायतका कार्यक्रमा सहभागी हुनेछन् ।

यसैगरी उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तर्क्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले मङ्गलबार भेट गर्ने कार्यक्रम रहेको छ । मंगलबार नै उनले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ । साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको कार्यक्रममा उनी सरिक हुनेछन् ।

यदि बुधबार मौसम अनुकूल भए उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने छन् । त्यही क्रममा उनी नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरामा पुग्नेछन् । सोही दिन वसन्तपुरस्थित हनुमानढोका जाने कार्यक्रम पनि तय भएको छ ।

सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा नेपाली सेनालाई करिब रु २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपूर्जा, घोडा, विस्फोटक पदार्थ प्रतिरोध सवारीसाधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरण सहयोगस्वरुप उपलब्ध हुने बताइएको छ । नेपाल भ्रमण सकेर उनी बिहीबार अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !