११ बैशाख २०८१, मंगलबार

सम्पत्ति शुद्धीकरणको निष्कर्ष : इच्छाराजले साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरे


इच्छाराज तामाङ

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको छ ।

विभागले गरेको अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए । तामाङले साढे ५ अर्ब रुपैयाँ बराबरको सम्पत्तिको स्रोत देखाउन नसकेको र सो रकम सिभिल सहकारी संस्थाबाट ठगी गरेर आर्जन गरेको पाइएको हो ।

तामाङले सर्वसाधारणको बचत रकम आफूखुसी चलाएर दुरुपयोग गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत वर्षको असोज १८ गते उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो । तामाङसहित १२ जना विरुद्ध परेको उजुरीमा उनकी श्रीमती सिर्जना शाक्यलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको छ ।

सहकारीमा सदस्यहरुले बचत गरेको ५ अर्ब ८४ करोड ४० लाख ठगी गरेको कसुरमा पूर्वअध्यक्ष तामाङ र केवलाल श्रेष्ठ पुर्पक्षको लागि थुनामा छन् । आफूहरुको रकम हिनामिना गरको भन्दै सहकारीका रकम बचत राखेका १५३० जनाले सीआईबीमा उजुरी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !