११ बैशाख २०८१, मंगलबार

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना डोजर लगाएर भत्काइयो


अवैध संरचना डोजर लगाएर भत्काइयो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचना भत्काएको छ । अहिले भर्खरै अल्फाबिटाको अवैध संरचना डोजर लगाएर भत्काइएको हो ।

अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि आज बिहीबार दिउँसो भत्काइएको हो । आजै अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर बालेन शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा गएका थिए ।

शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा माग्दा शर्माले नक्सा आफूसँग नभएको बताएपछि उनीहरुबीच चर्काचर्की भएको थियो ।

अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन निर्देशन दिएका थिए । कार्यालय फर्किएका मेयर बालेन नक्सा र नगरप्रहरी लिएर दोस्रो पटक अल्फाबिटा पुगेका थिए ।

महानगरले हिजो बुधबार मात्र काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काएको थियो । काठमाडौं महानगरले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !