८ बैशाख २०८१, शनिबार

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको जानकारी


संसद बैठक

काठमाडौँ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले खानेपानीमन्त्री उमाकान्त चौधरी यही साउन २८ गते अमेरिका प्रस्थान गरेकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकको शुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले समय मागेर बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता विधेयकको सम्बन्धमा कानूनविद् र प्रधानमन्त्रीसँग समेत छलफल गरि राष्ट्रिय भावनालाई ध्यानमा राख्दै विधेयकलाई फिर्ता पठाएको बताएका थिए ।

विगतमा एमालेलाई विभाजन गर्नैका लागि सरकारले ल्याएको राजनीतिक दल सम्बन्धीको अध्यादेशलाई राष्ट्रपतिले नरोकेको उदाहरण प्रस्तुत गर्दै प्रमुख सचेतक भट्टराईले अहिले राष्ट्रपतिले संवैधानिक अधिकारको प्रयोग गरी विधेयकलाई पुनर्विचारको लागि पठाउँदा पूर्व पार्टीसँगको सम्बद्धतालाई जोडेर राष्ट्रपति संस्थालाई आलोचित बनाउन खोजिएको बताए ।

अध्यादेशलाई राष्ट्रपतिले पुनर्विचारका लागि पठाउने कुनै संवैधानिक व्यवस्था नभएकाले नै विगतमा केपी ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकृत गरेको जिकिर गर्दै उनले नागरिकता जस्तो महत्वपूर्ण र दूरगामी बिषयमा जनतालाई विभाजित बनाएर छलफल र चर्चा गरिनु बाञ्छनिय नहुने पनि स्पष्ट पारे ।

उनले संसदमा पुनर्विचारका लागि आएको विधेयकलाई अब अवसरको रुपमा प्रयोग गर्दै यसमा पुनर्विचारका लागि सबै दललाई एकैठाउँमा उभिन आह्वान पनि गरे ।

जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्छ भन्ने पक्षमा एमाले रहेको स्पष्ट पार्दै प्रमख सचेत भट्टराईले आज विवाह गरेर ल्याइएकी विदेशी महिलालाई भोलि नै त्यो देशको नागरिकता दिने व्यवस्था कुनै पनि मुलुकमा नभएकाले विगतमा राज्य व्यवस्था तथा सुशासन समितिले निर्णय गरिसकेको ७ बर्षे प्रावधानलाई राखेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले यसको लागि प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले समेत यसमा पहल कदमी लिनु पर्ने धारणा राखेका थिए ।

राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक माथि आफ्नो पार्टीले ३३ वटा संशोधनहरु हाले पनि पहिले बहुमतले पेल्ने काम गरिएको भन्दै उनले भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले पनि १६ बर्ष पछि मात्र भारतको नागरिकता पाएको र उनलाई हालसम्म पनि प्रधानमन्त्री बन्न नदिइएको उदाहरण प्रस्तुत गरेका थिए ।

समय मागेर बोल्दै सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद लक्ष्मी परियारले नेपाली नागरिकतामा विगतमा राखिएका अपमानजनक नामहरुलाई बदल्न चाहेमा बदल्न सक्ने गरी गृहमन्त्रालयले हालै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको र सोही शिलशिलामा आफ्नो नाम बदल्न जाँदा दैलेखकका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सेवाग्राहीको निवेदन च्यात्नुका साथै पुरानो नागरिकता समेत केरमेट गरिदिएर जातीय विभेद, अपमान र दूव्र्यहार गरेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुख मार्फत गृह प्रशासनसँग माग गरेकी थिइन् ।

आफ्नो नागरिकतामा लेखिएको अपमानजनक नाम ठगे कामीलाई बदलेर कर्णबहादुर कामी लेखाउनका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा निवेदन लिएर पुगेका कामीको सिडियो प्याकुरेलले निवेदन च्याती पुरानो नागरिकतामा समेत डटपेनले कोरेर बिगारि दिएको जानकारी दिंदै सांसद परियारले सार्वजनिक पदमा बसेर जातीय विभेद गर्ने सिडियोलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन सभामुख मार्फत सरकारसँग माग गरेकी हुन् ।

समय मागेर बोल्दै नेकपा(माओवादी केन्द्र)की सांसद कमला रोकाले रुकूमपूर्वको कुठा उत्तरगंगा नगरपालिकाको बाटो जिर्ण भएकाले हालै मात्र प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपी सहित अन्य प्रहरीहरु सवार गाडी दुर्घटना हुँदा एक जना प्रहरीको निधन र अन्य प्रहरीहरु घाईते भएको भन्दै तत्काल सो क्षेत्रको सडकको स्तरोन्नतीको लागि सभामुख मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका थिइन् ।

सो जिल्लाको भुमे लगायतका गाउँपालिकाहरुमा अहिले विद्युत र सञ्चार सम्पर्कमा समेत कठिनाई भइरहेको भन्दै सांसद रोकाले उक्त क्षेत्रमा तत्काल केन्द्रीय प्रसारण लाईनको विद्युत जोड्नको निम्ति सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

आजको बैठकमा सांसदहरुले शुन्य समयमा समेत बोल्दै समसामयिक र जनसरोकारका बिषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक पर्सी भाद्र २ गते बिहान ११ बजे बस्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !