११ बैशाख २०८१, मंगलबार

रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते


Fire

बुटवल । रुपन्देही जिल्लाको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिकामा युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

सिद्धार्थनगर नगरपालिका-१, बेलहिया बस्ने अन्दाजी २५ वर्षीय बिकास गुरुङ ओमसतिया गाउँपालिकाको-४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका हुन् ।

मोटरसाइकलमा सवार गुरुङमाथि बसन्तपुर वडा कार्यालय अगाडि नम्बर नखुलेको पल्सर मोटरसाइकलमै रहेका ३ जनाको समूहले हिजो आइतबार राति पौने १२ बजेतिर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गुरुङको बायाँ कोखामा गोली लागेको छ ।

रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासस्थित सिद्धर्थ कटेजमा हिजो राती करिब ११ बजे उक्त समूह लुटपाट गरी भाग्ने क्रममा जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको हो । लुटेराहरूले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !