१२ बैशाख २०८१, बुधबार

साइकल खरिद अनियमितता : मधेस प्रदेशविरुद्ध विशेष अदालतमा मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिद अनियमितता प्रकरणमा मधेस प्रदेशविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा साइकल खरिद अनियमितता गरेको भन्दै मधेस प्रदेशका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त अभियानमा छात्रालाई साइकल प्रदान गर्दा ठूलो घोटाला भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । आयोगका अनुसार सो कार्यक्रम अन्तर्गत वितरण गर्न ल्याइएका साइकल तोकिएको ब्राण्डका नभई ब्राण्ड नै नखुलेका कमसल तथा गुणस्तरहीन पाइएको हो ।

सार्वजनिक खरिद ऐनको नियमावली तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिका विपरीत ल्याइएका साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेको आरोपमा अख्तियारले १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बमोजिम जरिवाना र बिगो असुलको मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।

साइकलसमेत लिएर विशेष अदालत पुगेको अख्तियारले मधेस प्रदेशविरुद्ध ठूलो आर्थिक घोटाला गरेको दाबी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई मुद्दामा विपक्षी बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !