११ बैशाख २०८१, मंगलबार

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुवै चालकको मृत्यु


दुर्घटना

जलेश्वर । महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ । घटना भएका दिन एउटा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने अर्का मोटरसाइकल चालकको आज मृत्यु भएको छ ।

आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका– ४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका– २ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो ।

प्रदेश २–०२–००१प। ८६७९ नं को मोटरसाइकलमा चढेर बर्दिबासबाट सम्सी जाँदै गरेका विवेकलाई विपरित दिशाबाट प्रदेश २–०२–००३प ७७३८ नम्बरको मोटरसाइकलमा चढेर आउँदै गरेका कृष्णाले गौशाला नगरपालिका–२ स्थित सडकमा आमनेसामुने ठक्कर दिएका थिए ।

सो ठक्करमा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यता कृष्णालाई जिल्लामा आवश्यक उपचार गराइ थप उपचारका लागि काठमाडौँ स्थित बीएण्ड बी अस्पतालमा लगिएको थियो ।

गम्भीर घाइते भएका कृष्णालाई ११ दिनसम्म सोही अस्पतालमा उपचार भइरहेकामा आज उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !