६ बैशाख २०८१, बिहिबार

रामेछाप बस दुर्घटना (अपडेट) : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो


रामेछापमा बस दुर्घटना

काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ ।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए ।

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उहाँले बताए ।

बिहान अन्दाजी १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्य भएका नौमध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरुको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिए ।

तीनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ मन्थलीबाट पश्चिम ४ घन्टाको यात्रामा घटनास्थल पुगिने भन्दै अहिले आफ्नो टोली घटनास्थलतर्फ गइरहेको बताए ।

स्थानीयवासी र प्रहरीले उद्धार कार्य सम्पन्न गरी शवको जाँच मुचुल्का उठाउने कार्यमा प्रहरी जुटेको सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !