११ बैशाख २०८१, मंगलबार

पहिरोले मध्यपहाडी लोकमार्ग र बागलुङ–म्याग्दी सडक अवरुद्ध


मध्यपहाडी लोकमार्ग

गलकोट । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षात्ले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ । यस्तै बागलुङबाट म्याग्दी जिल्ला जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ ।

बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !