४ बैशाख २०८१, मंगलबार

शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका छ : राष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयले नेपालमा शिक्षा र चेतनाको विस्तार गर्न ठूलो भूमिका खेलेको बताएकी छन् । उनले ती पुस्तकालयको स्तर वृद्धि गर्न, विस्तार गर्न तथा नयाँ प्रविधिको प्रयोगबाट पाठकसम्म पहुँच पुर्याउन एवं अभिरुचि जगाइराख्न थप कार्य गरिनुपर्ने खाँचो रहेको औँल्याइन् ।

नेपाल पुस्तकालय सङ्घको नेतृत्वमा आएका लाइब्रेरियन तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित विज्ञसँगको भेटघाटका अवसरमा सम्बोधन गर्दै उनले भनिन्, “पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो । तपाईंहरूले आज प्रस्तुत गर्नुभएको सन्दर्भले पनि बताएको छ ।”

पुस्तकालय भन्नाले केबल पुस्तकको भण्डार मात्र होइन । विभिन्न विषयका पुस्तक, अनुसन्धान प्रतिवेदन, ऐतिहासिक दस्तावेज, नयाँ र अद्यावधिक तथ्याङ्कसहितको स्रोत केन्द्रका रूपमा पुस्तकालयले ज्ञान निर्माण गर्न विशिष्ट भूमिका खेलिरहेका हुन्छन् ।

यसरी एउटा पुस्तकालय आधारभूत तहमा पुस्तकको सङ्ग्रह हुन सक्छ भने विशिष्टीकृत तहमा अत्याधुनिक स्रोत केन्द्र तथा नीति अध्ययनको स्थल बन्न सक्दछ । उनले सूचना तथा सञ्चार प्रविधिको प्रयोग तथा विस्तारका कारण नयाँ पुस्ताका पाठक डिजिटल माध्यमतर्फ बढ्दो सङ्ख्यामा आकर्षित हुँदै गएको पाइन्छ ।

वर्तमान विश्वमा पुस्तक पढिने मात्र होइन, हेर्न र सुन्न सकिनेरूपमा पनि रुपान्तरित गरी बजारमा उपलब्ध हुन थालेका र यसरी पहुँचको विस्तार हुँदासमेत पठन संस्कृति भने कमजोर हुँदै गएको टिप्पणी यदाकदा सुन्ने गरेका छौँ ।

पाठकका बीचमा कुनै विषयमाथि गहिरिएर अध्ययन गर्ने, छलफल चलाउने, पुस्तकका बारेमा चर्चापरिचर्चा सञ्चालन गर्ने, नयाँ पुस्तकका बारेमा समीक्षात्मक सेमिनार आयोजना गर्ने जस्ता क्रियाकलापबाट पुस्तकालयले आफ्नो स्थान आफैँ निर्माण गर्न सक्नुपर्दछ । यसरी, पठन संस्कृति प्रवद्र्धन गर्ने सबैभन्दा उपयुक्त माध्यमका रूपमा पुस्तकालयलाई विकास गर्दै लैजान सकिने बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !