चितवनमा ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु Nepalpatra चितवनमा ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु
१४ मंसिर २०७९, बुधबार

चितवनमा ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु


बाघ

चितवन । मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो ।

उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो ।

सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

उक्त बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिने छ । सो भाले बाघको उमेर भने खुलेको छैन । यस अघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ ।

चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !