८ बैशाख २०८१, शनिबार

गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी बिहीबार तोकियो


सर्वोच्च अदालत र महाप्रसाद अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैको सूचीमा राखिएको छ । आज मंगलबार सुनुवाइ नसकिएपछि अधिकारीको रिट हेर्दाहेर्दैमा राखिएको हो । अर्को पेसी भने बिहीबारका लागि तोकिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा परेको अधिकारीको रिटमा वरिष्ठ अधिवक्ताहरूले बहसको क्रम नटुंगिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नर अधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

सरकारले छानबिन थालेपछि निलम्बनमा परेका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै छानबिन रोक्न माग गरेका थिए । उक्त रिटमाथि वैशाख ६ गते सुनुवाई हुँदा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छानबिन रोक्न आदेश दिएको थियो ।

सर्वोच्चले उक्त आदेशमा अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा निर्णय लिन भन्दै आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर दुवै पक्षको सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखिएतापनि उनले पूर्ववत् अवस्थामै कामकाज गर्न भने पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !