६ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकाका नदीमा फोहर मिसिन थाल्यो


fohor

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ ।

नदीमा सिधै फोहर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफाइ अभियान भने जारी छ । सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन् ।

सात दिनसम्म राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहर भने नदीमा मिसिन्छ । नदी किनारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । विगत १० वर्षदेखि सफाइ अभियान जारी रहे पनि नदी ढलमुक्त हुनसकेको छैन ।

फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालगायत राजधानीका अन्य स्थानीय तह सफल हुनसकेका छैनन् । फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा परेको छैन ।

अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा नदीमा गएर सफाइ गरे पनि फोहर व्यवस्थापनमा स्थानीय सरकारले ठोस नीति निर्माण गरेका छैनन् । जसका कारण अन्य देशका नागरिकको समेत पहिलो आँखा जाने राजधानी सहर प्रदूषित र दुर्गन्धित बनेको छ ।

सरोकार निकायको भने यसतर्फ ध्यान जान सकेको छैन । गर्मी बढ्दै गएकाले ठाउँ–ठाउँमा थुप्रिएको फोहरबाट रोगको महामारी फैलनेतर्फ सम्बन्धित पक्षको ध्यान नगएको धुलिखेल अस्पतालका डा रोशन पोखरेल बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !