८ बैशाख २०८१, शनिबार

एआईजीमा बढुवाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले एआईजीमा बढुवाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।

एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । मन्त्रिपरिषद् बैठकले डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध असन्तृष्ट डीआईजीहरुले बढुवामा मापदण्ड लागु नगरिएको र वरिष्ठताको मापदण्ड मिचिएको भन्दै रिट दायर गरेका थिए ।गत बुधबारको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यसअघि तीनै जना डीआईजीहरुले बढुवा समितिको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय नै सदर गरेको थियो । उनीहरुले दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् ।

बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने तीन जनै डीआईजीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनीहरु आईजीपी क्षेत्रीसंगै आगामी १९ वैशाखमा अवकाश पाउनेछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीनै जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !