१३ बैशाख २०८१, बिहिबार

नायक पल शाहलाई थुनामा पठाउन अदालतको आदेश


पल शाह

काठमाडौं । नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । बलात्कार आरोपमा पक्राउ परेका शाहलाई आज बिहीबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र नाबालिग एक बालिकाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो ।

जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट आज अदालतमा बहस भएको थियो । प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको थियो ।  शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको थियो ।

शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !