१३ बैशाख २०८१, बिहिबार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज इन्डोनेशिया जाँदै


गणेश प्रसाद तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज बेलुका इन्डोनेशिया प्रस्थान गर्ने भएका छन् । अध्यक्ष तिमिल्सिना यही मार्च २० देखि २४सम्म इन्डोनेशियाको बालीमा अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदले आयोजना गरेको अन्तर व्यवस्थापिका संघ(आईपीयु)को १४४ औं सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।

उनी आज बेलुका साँढे नौ बजे ९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यस तर्फ उड्दैछन् । अध्यक्ष तिमिल्सिनासँगै राष्ट्रिय सभा सदस्यहरु भैरवसुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्यहरुमा सुरेन्द्रकुमार कार्की, उमाशंकर अरगरिया, संघीय संसदका महासचिव डा.भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोबिन्द अकेला र संघीय संसदकी उपसचिव रेखा उपाध्याय त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको संघीय संसद प्रवक्ता डा.रोजनाथ पाण्डेद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष तिमल्सिनाले ‘गेटिङ टु जिरोः मोबिलाईजिङ पार्लियामेन्ट्स टु याक्ट अन क्लाईमेट चेन्ज’ शिर्षकमा आफ्नो धारणा व्यक्त गर्ने तथा सम्मेलनको विशेष सत्रमा ‘हारनेशिङ ग्लोबल पार्लियामेन्टरी सपोर्ट फर भ्याक्सीन ईक्वालिटी ईन द फाईट अगेष्ट द कोभिड–१९ प्यान्डमिक’ विषयमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्ने लगायतका अरु पनि कार्यक्रमहरु रहेको छ ।

उक्त भ्रमण टोली यही चैत्र ११ गते बेलुका ८ः२५ मा स्वदेश फर्कने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !