७ बैशाख २०८१, शुक्रबार

राणा र बस्नेतविरुद्ध सामाजिक सञ्जालमा देखिइरहेका अभिव्यक्तिप्रति महासंघको आपत्ति


नेपाल पत्रकार महासङ्घ

काठमाडौँ । वरिष्ठ पत्रकारद्वय बन्दना राणा र बबिता बस्नेतविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा देखिइरहेका अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पत्रकार बस्नेतले लेखेको लेख र पत्रकार राणाले सामाजिक सञ्जालमा व्यक्त गरेकोे अभिव्यक्तिलाई लिएर उनीहरूलाई बहिस्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा देखिनु दुःखद घटना भएको महासंघका महासचिवका रोसन पुरीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार बस्नेत वरिष्ठ महिला पत्रकार तथा सम्पादक भएकोले उनीहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रता अभियन्ता भएको महासंघले बताएको छ ।

कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भएकोले कसैले सार्वजनिक रूपमा व्यक्त गरेको विचारको विरोध वा खण्डन गर्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै भएको महासंघले जनाएको छ ।

लोकतान्त्रिक सभ्य समाजमा यस्तो विरोध वा खण्डन बहस र अभिव्यक्तिको माध्यमबाट स्वस्थ ढंगबाट नै हुनुपर्छ भन्ने महासंघको मान्यता रहेको बताएको छ । तर पत्रकार बस्नेत र राणाले राखेको विचारका कारण उनीहरूलाई हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनुका साथै लोकतान्त्रिक समाजलाई सुहाउँदो हुँदैन महासंघले भनेको छ ।

तसर्थ नेपाल पत्रकार महासंघले यस विषयसम्बद्ध सबैमा बहस र संवादमार्फत नै समस्याको समाधान खोज्न आग्रह समेत गरेको छ ।

यस्तो छ हेर्नुहोस् नेपाल पत्रकार महासंघले निकालेको प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !