६ बैशाख २०८१, बिहिबार

कञ्चनपुरमा चितुवाले गोठकै जनावर खान थाल्यो


चितुवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात्रै स्थानीयवासी कौसादेवी भट्टको तीनवटा खसी र दुईवटा बाछी मारेर खाएको छ । मञ्जु चन्दको एक ब्राखा र एक खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । साँझ नपर्दै गाउँ पस्दै आएको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासी लोकराज शाहुले बताए ।

“धेरै जनाले कच्ची गोठमै बाख्रालगायतलाई बाँध्ने गरेका छन्”, उनले भने, “साँझ नपर्दै चितुवा गोठमा पसेर खसी, बाख्रा मारेर लग्ने गरेको छ । बिहान खोजबिन गर्दा बाख्रा भेटिँदैनन् । वन क्षेत्रमा खाएको अवस्थामा फेला पर्ने गरेको छ ।”

यसअघि समेत चितुवाले छिमेकी गाउँ लक्ष्मीपुरका बासिन्दाका घरपालुवा कुकुरदेखि बाख्रा, बङ्गुर खाएर नोक्सानी गरेको थियो । “केही महिना आतङ्क मच्चाएको चितुवाले दुःख दिन छाडेको थियो”, तुलाराम चौधरीले भने, “ढकनियामा फेरि घरपालुवा जनावर खान थालेको छ । चितुवाका कारण घरपालुवा जनावर जोगाउन निकै चुनौती थपिएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !