११ बैशाख २०८१, मंगलबार

नोबेल मेडिकल कलेजका सञ्चालक शर्मालाई मन्त्रालयकै ढोकामा विद्यार्थीले दले कालोमोसो


सुनिल शर्मा

काठमाडौँ । नोबेल मेडिकल कलेज तथा काठमाडौ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमा कलेजमा अध्ययनरत विद्यार्थीले उनलाई कालोमोसो दलेका हुन् ।

शुक्रबार शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो । बैठकले गरेको पाँच निर्णयमा शर्माले फरक ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए ।

अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन् । प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो । विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शर्मामाथि कालोमोसो दलेको बताएको छ ।

कालोमोसो दल्ने ५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीहरुले नमस्ते गरेजस्तो गरेर शर्मालाई कालोमोसो दलेका थिए । पीडित विद्यार्थी तथा विद्यार्थी संगठनहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शर्माको विरोध गर्दै आइरहेका छन् ।

आज शुक्रबार मन्त्रालयमा शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो भने शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !