१३ बैशाख २०८१, बिहिबार

एमाले-माओवादी एकता समानताकै आधारमा हुन्छ : भीम रावल (भिडियोसहित)


bhim rawal

२९ चैत, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रवीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टी एकता समानताकै आधारमा हुने स्पष्ट पारेका हुन् । उनले भने,‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा कुनै दुईमत छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने जनाए ।

पत्रकार धमलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त एकता ५०/५० को आधारमा हुनुपर्छ भन्नुभएको छ नि भनेर सोधेको प्रश्नमा उनले भने,‘सख्याँत्मक दृष्टिकोणले को व्यक्ति कहाँ ? कति रहन्छन् ? भन्ने कुरामा संस्थागत रुपमा छलफल गर्न बाँकी छ, त्यो छलफल भएपछि जानकारी हुन्छ, तर प्रचण्डजीले समानताका आधारमा हुनुपर्छ भनेको कुरालाई मैले कसरी बुझेको छु भने दुईवटा पार्टी एक ठाउँमा आएपछि समानताको आधारमा हुने हो नि त, एउटा पार्टी ठूलो गज्जबको, अर्को केहीपनि होईन भनेर त्यसरी एकता हुँदैन कहिल्यैपनि, अब व्यक्ति–व्यक्ति कुरा अर्थात को व्यक्ति कहाँ जाने ? भन्ने कुरा त अन्तरिम विधान आएपछि छलफल गरेर भन्ने कुरा हो।’

रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने सामान्य समझदारी भएको भएपनि संस्थागत निर्णय नभएको जिकिर गरे । उनले भने,‘बैशाख ९ गते नै एकता घोषणा गर्ने भन्नेबारे औपचारिक निर्णय हुन बाँकी छ, त्यसलाई पार्टी एकता संयोजन समितिले पनि निर्णय गर्न बाँकी छ, त्यो निर्णय बमोजिम हामीले आ–आफ्नो पार्टीको उपल्लो निकाय केन्द्रिय कमिटिमा आएर छलफल गरेर अनुमोदन गर्ने प्रक्रियापनि बाँकी छ ।’

उनले संविधान आएपछि नेपाले हाँसिल गरेको सफलताको बारेमा चर्चा गर्दै भने,‘नेपाली कांग्रेस विपक्षी दल भएतापनि नेपालका साझा विकास र परराष्ट्र सम्बन्ध र नेपाली जनताका कतिपय सन्दर्भ र विषयमा समझदारी राखेर अघि जानुपर्छ भन्ने मेरो मान्यता छ, किनभने देशको विकास, समृद्धि, स्वाधिनता, स्वतन्त्रता, अखण्डता र नेपाली जनताको हितको कुरा यो कुनै पार्टी विशेषको मात्रै हुँदैन्, यो साझा सरोकारको विषय हुन्छ, त्यसकारण सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवैले यी साझा सवालहरुमा कुरा गरेर एउटा समझदारी बनाउने कुरामा हच्किनु र चुक्नु हुँदैन् ।’

रावलले राजनीतिमा बहुमत ल्याउने र सरकार बनाउने कुरा प्रक्रियागत कुरा भएकोले कांग्रेसले अब कुनै ठाउँमापनि सरकार बनाउन पाईएन भनेर एकदमै अर्के किसिमले सोच्ने र राष्ट्रलाईभन्दा अरु नै कुरालाई सोच्ने दिशामा जान नहुने धारणा राखे ।

आफूहरुले संविधानमै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको उल्लेख गर्दै उनले भने,‘हामी संविधानबाट निर्देशित छौं, मलाई के लाग्यो ? को प्रधानमन्त्री हुँदा कसलाई के लाग्यो ? भनेर त्यो संविधानको मर्म र भावना विपरित वा अन्यथा कसैलेपनि जान मिल्दैन्, हामीले संयुक्त राष्ट्रसंघको बडापत्र, स्वतन्त्र परराष्ट्र नीतिका अन्र्तराष्ट्रिय मुल्य र मान्यताहरु, पञ्चशीलको सिद्धान्त, असंलग्नताको मान्यता अनुसार हाम्रो अन्र्तराष्ट्रिय सम्बन्ध सञ्चालनको कुरा गरेका छौं, हामीले भारत, चीन वा जुनसुकै देशसँग सम्बन्ध कायम गर्दापनि यी कुराहरुको हेक्का राख्नुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे उल्लेख गर्दै नेता रावलले भने,‘उहाँले जुन भ्रमण गर्नुभयो, संयुक्त वक्तव्य जारी भएको छ, वक्तव्यमा रेलमार्ग र जलमार्गको कुरा गर्नुभएको छ, कृषिमा कुरा गर्नुभएको छ, यस सम्बन्धमा मैले विस्तृत अध्ययन र कुरा सुन्न बाँकी नै छ, गृहजिल्लाबाट म हिजोमात्रै काठमाडौं आएको छु ।’ प्रधानमन्त्रीको भारत भ्रमणबारे आफू र प्रधानमन्त्रीवीच कुराकानी हुन नपाएको उनले स्पष्ट पारे ।

रावलले भने,‘म कुटनीतिशास्त्रको विद्यार्थी भएको नाताले यस विषयमा मलाई विशेष चासो छ, मलाई के लाग्छ भने, जस्तो रेलमार्गको सवालमा नेपालको आवश्यकत्ता भनेको पूर्व–पश्चिम रेलमार्ग हो, भारतसँगको यो कनेक्टिभीटी, कनेक्टिभीटीको कुरा गर्छन नि, भारतसँग त हाम्रो यसैपनि कनेक्टिभिटी छँदैछ, नेपालको कुन शहरबाट भारतसँग हामी जोडिएका छैनौं ? म प्रश्न गर्न चाहन्छु, सबै शहरसँग जोडिएका छौं, अहिले काठमाडौंबाट दिल्ली बस जान्छ, धनगढीबाट दिल्ली बस जान्छ, भारतसँग कनेक्टिभिटीको समस्या होईन, त्यसकारण हाम्रो आवश्यकत्ता के हो भने भारतसँग जोडिएका नेपालका शहरहरुमा मात्रै रेल ल्याउने अनि कनेक्टिभिटी भयो भन्ने होईन ।’

उनले नेपालको अर्थतन्त्रलाई अघि बढाउनको लागि नेपालको तराईमा पुर्व–पश्चिम रेल चल्नुपर्ने बताए । रावलले थपे,‘हाम्रो पहिलो आवश्यकत्ता त तराईमा रेल चल्नुपर्यो, तराईबाट पहाड जोडिनुपर्यो, जस्तो वीरगन्जबाट काठमाडौं जोड्ने सडक सञ्जाल छ, अब त्यो रेलमार्ग भयो भने कति राम्रो हुन्छ, मलाई लाग्छ भारतसँग नेपालले यो विषयमा कुरा गर्नु बढि हितकारी हुन्छ ।’

नेपाल भौगोलिक विकटता भएको देश भएकोले तराईबाट पहाड जोड्ने सडक सञ्जालहरु हुन आवश्यक रहेको उनको तर्क थियो । उनले भने,‘त्यस्तै तराईको कुनै विन्दुबाट पहाडको कुनै विन्दु जोड्ने रोप–वे बनाउन सक्यौं भने फाईदाजनक नै हुन्छ ।’

त्यस्तै उनले नेपालमा जलमार्ग बनाउने कुरा धेरै पहिल्यैदेखि नै उठ्दै आएको सुनाए । उनले थपे,‘जलमार्गको विषयमा जमिनसँगमात्रै जोडिएको र सुमधुर सम्बन्ध भएको देश भएकोले कोशी र कर्णालीजस्ता ठूला नदीहरुबाट स्टिमरहरु चलाउने, हाम्रो जलले जति धान्न सक्छ, त्यतिसम्म जाने, भारत र नेपालबीच त्यो सहमति भएर नेपालका स्टिमरहरु (भारतका मात्रै आउन पाउने) तर नेपालका जान नपाउने भयो भने त्यसको कुनै अर्थ छैन्, म यो कुरा प्रष्ट रुपमा भन्न चाहन्छु, अब यस सम्बन्धमा कसरी कुरा भएका छन्, त्यो मलाई थाहा भएन्, यदि नेपालका यानहरु, जलयानहरु जान पाउने हो भने त्यो राम्रो हुन्छ, तर यसको लागि पनि के कुरामा विचार पुर्याउनुपर्छ भने कतै यो कोशी उच्च बाँध बनाएर अनि त्यसको पानी छोडेर जलको सतह कायम गरेर यान बनाउने कुरा गरेको छ भने त्यो नेपालको हितमा हुन सक्दैन् ।’

पूर्वका ९ वटा जिल्लालाई डुबाएर आफूहरुले कोशी ड्याम बनाउँदा नेपालको वार्षिक अरबौं रुपैयाँ क्षति भएको उनले स्पष्ट पारे । रावलले भने,‘त्यो नेपालले बढि क्षति व्यहोर्नुपर्यो, फाईदा हामीलाई त्यति भएन्, तर दुवै देशलाई समानताको आधारमा फाईदा हुनुपर्छ, यसको अर्थ भारतले फाईदा नलियोस् भनेर मैले भनेको होईन, भारतको फाईदासँगै दिर्घकालिन र रणनैतिक रुपमा नेपाललाई पनि फाईदा हुनुपर्छ ।’

नेपालको सिमाना–सिमानामा मात्रै भारतको रेल ल्याउने कुरा हो भने त्यो नेपालको हितमा नहुने उनको आरोप छ । रावलले थपे,‘हामीले ती रेलहरु त नेपालका पहाडी क्षेत्रमा ल्याउनुपर्यो, भारतसँग त यसैपनि नेपालको कनेक्टिभिटी छ, हामी जोडिएकै छौं, बरु कनेक्टिभिटीको सवालमा हामी चीनसँग कम जोडिएका छौं, एउटा कोदारी राजमार्ग थियो, त्यो पनि भुकम्पपछि बन्द छ, रसुवागडको बाटो हामीलाई थाहा छ, कठिन छ, अहिले नयाँ बाटो स्याप्रुवेसी बनाउँदैछौं ।’

भारत र चीन दुवैसँग कुरा गर्दा नेपालले आफ्नो देशको राष्ट्रिय हितलाई सर्वोपरी राखेर कुरा गर्नुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा कृषिको क्षेत्रमा पनि समझदारी हुने कुरा आफूले सुनेको उल्लेख गर्दै भने,‘कृषि या अन्य क्षेत्रमा समझदारी हुनु र सुमधुर सम्बन्ध हुनु राम्रो कुरा हो, एकदम राम्रो कुरा हो, म पनि त्यसको पक्षमा छु, तर नेपालका कृषि क्षेत्रका कतिपय उपजहरु जस्तो पूर्वको हाम्रो उपज अदुवा रोक्न पाईँदैन भन्नेबारे कहीँपनि कुरा भएको मैले पाईंन, ऋषिजीले कतै सुन्नुभएको कि, नेपालको उपज किन जान नपाउने ? यो सम्बन्धी कुरा हुनुपर्दथ्यो ।’

त्यस्तै उनले डुबानले तराईका जनता पीडित भएकोले यस सम्बन्धमा पनि भारतसँग कुरा भएको कि भएन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । उनले थपे,‘त्यो विषय संयुक्त वक्तव्य (जोईन्ट स्टेटमेन्ट)मा मैले देखिन्, त्यो कुरा हुनुपर्दथ्यो, भारतले दशगजामा मिचेर आफ्नो संरचना बनाएर हाम्रो क्षेत्रलाई डुबाउन उसले पाउँदैन, हामीले पनि यहाँ कुनै संरचना बनाएर भारतलाई डुबाउन पाउँदैनौं, त्यो अन्र्तराष्ट्रिय रुपमै अधिकार छैन ।’

पञ्चेश्वर परियोजनाको सवालमा आफु त्यही क्षेत्रको वासिन्दा भएकोले आफूलाई त्यो कुराले बढि छुने भन्दै रावलले भने,‘महाकाली सन्धि अन्र्तगर्त पञ्चेश्वर परियोजनामा प्रधानमन्त्रीले २० वर्षमा २० मिटरपनि बाटो बनेन भनेको कुरा ठिक हो, यसमा म उहाँलाई धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभयो, तर हुने भनेको त्यो पञ्चेश्वर अब के भो त ? ’

उनले १० वर्षमा महाकाली सन्धिको पूनरावलोकन गर्ने भनिएको भएपनि यो २० वर्ष पूरा हुँदापनि विस्तृत परियोजना नबनेकोमा दुःख व्यक्त गरे । रावलले भने,‘यो भ्रमणको बेला प्रधानमन्त्रीजीले भारतलाई स्मरण गराउनुभयो कि भएन् ? म सोध्न चाहन्छु, यसमा मेरो जिज्ञासा छ, किनभने म त्यो क्षेत्रको मान्छे हुँ, महाकालीबाट हामीले अहिलेसम्म पाउनुपर्ने पानी समेत पाएका छैनौं ।’ उनले दुई देशको सम्बन्ध भनेको त यस्ता विषयमा ठोस–ठोस कुरा हुनुपर्ने जिकिर गरे ।

त्यस्तै उनले भारतले विराटनगरमा स्थापना गरेको महावाणिज्य दूतावास कार्यालय तत्काल हटाउनुपर्ने भन्दै सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखे । रावलले आफ्नो पार्टीको अडान यथावत नै रहेको सुनाए ।

उच्च तहमा भ्रमण हुँदापनि सरकारले यसबारेमा किन प्रश्न उठाएन भन्दै रावलले प्रश्न गरे । नेपालको व्यापार घाटा घटाउने कुरामा पनि ठोस कुरा हुनुपर्ने उनको भनाई थियो । आफू त ठोस परिणाम भयो कि भएन भन्ने कुरा हेर्ने व्यक्ति भएको बताए । उनले भने,‘म त परिणाम हेर्छु, यदि यी जम्मै कुरा भएको हो भने राम्रो छ ।’

आफूले माथि उठाएका कुराहरुमा प्रधानमन्त्रीले कुरा गरेको हो भने राम्रो र भ्रमण सफल भयो भनेर आफूले भन्ने रावलले बताए । उनले भने,‘होईन भने भ्रमण ‘डिप्लोमेटिक नाईसिटीज’ अर्थात कुटनीतिक माधुर्यता मात्रै हुन्छ, भमण भयो, हाईहल्लो भयो भन्नेमात्रै हुन्छ ।’ भारत र नेपाल दुवै तर्फले डिप्लोमेटिक नाईसिटीजमा मात्रै सिमित राख्न नहुने बरु परिणाममा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

त्यस्तै उनले चीनको बोआवो फोरममा नेपालले भाग लिनुपर्दथ्यो भन्दै भाग के कति कारणले नलिएको भन्दै प्रश्न गरे । रावलले भने,‘चीनले बोलाएन कि वा बोलाएरपनि नगएको हो कि, नेपालले भाग लिनुपर्दथ्यो, यो नेपालको लागि ठूलो फोरम हो, किन छुट्यो मेरो जिज्ञासा छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !