८ बैशाख २०८१, शनिबार

मंसिर १५ गतेबाट सर्वोच्चमा गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोलाप्रथा प्रणाली लागू गरिने निर्णय भएको छ । सर्वोच्चका न्यायाधीशहरुको आज बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ वाट गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका अन्य न्यायाधीशहरुको आज बसेको बैठकले मंसिर १५ गतेबाट गोलाप्रथाबाट इजलास तोक्ने निर्णय भएको हो । यसअघि गत सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको थियो ।

प्रधानन्यायाधीश जबराको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्चको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएतापनि यसलाई औपचारिकता दिन सर्वोच्चको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने प्रावधान भएकोले आज पूर्ण बैठक (फूल कोर्ट) बसेको हो ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए । अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो ।

प्रधानन्यायाधीश इजलासमा बस्न नहुने र इजलास तोक्न नपाउने भन्दै आएका न्यायाधीशहरूले नियमावलीमा भने प्रधानन्यायाधीशको अध्यक्षतामा दुई वरिष्ठतम न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समिति प्रस्ताव गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !