७ बैशाख २०८१, शुक्रबार

चिनियाँ रेलबाट नेपालका लागि ल्याइएको सामान रसुवागढी भित्रियो


rasuwagadi

जेष्ठ ९, २०७३- चिनियॉ रेलबाट सिगात्से ल्याइएको व्यापारिक सामान शनिबार रसुवागढी नाका भित्र्याइएको छ । रसुवा भन्सारका अनुसार केरुङको पाङसिङबाट ६ वटा कन्टेनर मार्फत सामान रसुवागढी भित्र्याइएको हो ।

‘रेल मार्फत ल्याएको सामान आइपुगेको छ,’ भन्सार प्रमुख केदार पनेरुले भने, ‘आइतबार राजधानी पुग्छ ।’ आयातित अधिकांश सामान किलिप (काँटा, जुत्ता, चप्पल) लगायतका छन् । चिनियॉ सञ्चार माध्यमले जनाएअनुसार गान्सु प्रान्तस्थित लान्झाउबाट सामान रेलले सिगात्से ल्याएको हो ।

त्यहाँबाट ट्रकमा राखेर यता ल्याएको छ । घरायसी प्रयोजनका लागि ८६ कार्गो कन्टेनर सामान ल्याएको थियो । रेलले २ हजार ४ सय ३१ किलोमिटर पार गरेर सिगात्सेसम्म आएको थियो ।

सिगात्सेबाट केरुङसम्म (जिलोङ काउन्टी) ५ सय ६४ किलोमिटर पार गर्नुपर्छ । केरुङबाट ५ किलोमिटर टाढा पाङसिङमा अहिले ३ सय गाडी अट्ने भन्सार यार्ड बनाइएको छ ।

केरुङ रसुवागढी नाकाबाट केरुङ पुग्न २४ किलोमिटर पार गर्नुपर्छ । सामान आयात गर्न जलमार्गको तुलनामा स्थलमार्गबाट कम समय लाग्ने व्यवसायीले बताएका छन् । चीनमा लोड डरेको ११ दिनमा सामान सीमामा आइपुगेको छ ।

भन्सार अधिकारीहरूले हल्ला गरेको जस्तो नभई सामान नियमित प्रक्रिया भएको हो । ‘पहिला सिगात्सेसम्म रेल नआउँदा व्यापारीले गाडीमा सामान आयात गर्थे,’ भन्सार प्रमुख पनेरुले भने, ‘हाल रेलले त्यहाँसम्म ल्याउने हो । त्यसपछि चीनको केरुङसम्म गाडीबाटै ल्याउनुपर्छ ।’

प्रवेश नदिंदा हैरानी
चीनले नेपालीलाई केरुङ प्रवेशमा रोक लगाउ‘दा सिर्जित समस्याले व्यापारिक कारोबार प्रभावित भएको छ । सयौं व्यापारीले आफ्नो लाखौं रुपैयॉको सामान असुरक्षित रहेको गुनासो गर्दै आएका छन् । सामान ओसार्ने कन्टेनर चालक पनि रसुवाकै हुनुपर्ने प्रावधानले सामान र कन्टेनर असुरक्षित भएको उनीहरूको भनाइ छ ।

व्यवसायी बुद्धराज बस्नेतका अनुसार रसुवाका प्रत्येक चालकलाई १५ देखि २० हजार दिएर कन्टेनर केरुङ पठाउने गरिएको छ । ‘राजधानीबाट कन्टेनर लिई आउने चालक केरुङ जान पाउँदैन,’ बस्नेतले भने, ‘अन्य जिल्लाकालाई पास उपलब्ध गराएर उता जाने अनुमति चीनले नदिएसम्म समस्या उस्तै रहन्छ ।’

सामान धनी र कन्टेर चालक उता जान पाइ‘दैन । बस्नेतका अनुसार आफ्नो सामान कसले लोड गर्‍यो ? कति गर्‍यो ? त्यसको अवस्था थाहा पाउन सकिंदैन । कन्टेर नेपाल प्रवेश गरेपछि मात्र सामान हेर्न पाइन्छ ।

सामान हराउने, टुटफुट भएकाले लाखौं रुपैयॉ घाटा व्यहोर्नुपरेको छ । व्यापारी धेरै मर्कामा परे पनि सम्बन्धित निकायले निकास नदिएको गुनासो बस्नतेले गरे । चीनले ‘एकदिने’ प्रवेश पास दिनुपर्ने माग व्यापारीले गर्दै आएका छन् ।

चिनियॉ र नेपाली अधिकारीबीच सीमा बैठकमा भएको सहमतिअनुसार यसअघि १०/१५ जनालाई चीनको केरुङसम्म जान दिने प्रावधान राखिएको थियो । उक्त प्रावधानलाई सीमा क्षेत्रका नेपाली सुरक्षा अधिकारीले आफूखुसी लागू नगरेको स्रोतको दाबी छ ।

सहज प्रवेशमा रोक लगाएपछि आफूहरू नै हर्ताकर्ता हुन पाइने भन्दै प्रहरीले रोकेको स्रोतको दाबी छ । दैनिक केही व्यक्तिलाई प्रवेश दिने सहमति भए पनि प्रहरीले झन्झट लगाएर उता जान असहयोग गरेको व्यवसायीको आरोप छ ।

भन्सार कारोबार प्रभावित
रसुवा भन्सार यार्डमा सामान बोकेका दुई सयभन्दा बढी कन्टेनर थन्केको दुई साता भइसकेको छ । पछिल्लो समय भन्सारले मूल्यांकनमा कडाइ गरेपछि व्यवसायीले सामान छटाउन मानेका छैनन् । खासगरी तयारी पोसाक, जुत्ता, चप्पलगायतका व्यापारिक सामान नाकामा रोकिएको छ ।

पछिल्लो समय भन्सार विभागले रसुवाको राजस्व लक्ष्य बढाएपछि मूल्यांकनमा पनि बढी कडाइ गरिएको स्रोतको दाबी छ । ३/४ वर्ष अघिसम्म ५ हजार देखि २७ लाखसम्म राजस्व संकलन गर्ने भन्सार कार्यालयले अहिले मंसिरदेखि चैतसम्ममा एक अर्ब राजस्व संकलन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !