७ बैशाख २०८१, शुक्रबार

सर्वोच्च गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गर्न भोलि फूल कोर्ट बोलाइयो


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने निर्णय गर्न भोलि बिहीबार पूर्ण बैठक (फूल कोर्ट) बोलाइएको छ । सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो ।

आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बसेको बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोलाप्रथा प्रणाली लागू हुने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका अन्य न्यायाधीशहरुको आज बुधबार भएको छलफलले मंसिर १५ गतेबाट गोलाप्रथाबाट इजलास तोक्ने सहमति भएको हो ।

यसअघि गत सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको थियो ।

प्रधानन्यायाधीश जबराको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्चको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएतापनि यसलाई औपचारिकता दिन सर्वोच्चको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने प्रावधान भएकोले भोलि पूर्ण बैठक (फूल कोर्ट) बोलाइएको हो ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए । अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो ।

प्रधानन्यायाधीशले फुलकोर्ट आह्वान गरेपछि पनि बैठक भने न्यायाधीशहरूको मात्र बस्नेछ । न्यायाधीशहरूले आगामी १५ गतेबाट गोलाप्रथा पेसी प्रणालीको अभ्यास थाल्ने मिति पनि प्रस्ताव गरेको छ ।

प्रधानन्यायाधीश इजलासमा बस्न नहुने र इजलास तोक्न नपाउने भन्दै आएका न्यायाधीशहरूले नियमावलीमा भने प्रधानन्यायाधीशको अध्यक्षतामा दुई वरिष्ठतम न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समिति प्रस्ताव गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !