१३ बैशाख २०८१, बिहिबार

सर्वाेच्च अदालतका न्यायाधीशहरु र बारका प्रतिनिधिबीचको छलफल जारी


सर्वोच्च अदालत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट राजीनामा गराउन दबाबस्वरूप आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालतका न्यायाधीशबीचको छलफल जारी रहेको छ । सर्वाेच्चमा मध्याह्न साढे १२ बजे उनीहरूबीच छलफल शुरु भएको हो ।

न्यायालयको विवादलाई सर्वाेच्चका न्यायाधीशहरूले आज बारलाई आफ्नो ‘धारणा’ व्यक्त गर्ने भएका छन् । हिजो सोमबार सर्वाेच्चका १३ न्यायाधीशलाई भेटेर बार पदाधिकारीले आफूहरू जबराको राजीनामाकै मागमा अडिग रहेको बताएका थिए ।

बारले प्रधानन्यायाधीशको राजीनामा बाहेकका सर्तमा सम्झौता नगर्न पनि न्यायाधीशहरूलाई पुनः सचेत गराएकोबारे न्यायाधीशहरूले भने आज आफ्नो धारणा सुनाउने र थप छलफल गर्ने जवाफ दिएका थिए ।

प्रधानन्यायाशीध जबराको राजीनामालाई ‘बटमलाइन’ बनाएको बारले आज पनि देशभर विरोधका कार्यक्रम गर्दैछ । दोस्रो चरणको आन्दोनलनको तेस्रो दिन आज पनि देशभरका इकाईमा विरोध कार्यक्रम रहेको बारले जनाएको छ ।

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने बारको आन्दोलन रहेपनि विरोधकै बीच सोमबार प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो प्रयोग गरी कार्यकक्ष पुगेका थिए । बार कात्तिक १४ देखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !