७ बैशाख २०८१, शुक्रबार

अख्तियारले भन्यो- प्रदेश २ मा साइकल खरिदमा अनियमितता गरेको देखियो


प्रदेश २ मा साइकल खरिद

जनकपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।

अख्तियारको बर्दिबास प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखिएको बताएका छन् । आज सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउन पुगेका उनले पहिलो चरणको अनुसन्धानमा अनियमितता देखिएको बताएका हुन् ।

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अनियमितता भएको पाइएको अख्तियारले बताएको हो ।

अनुसन्धान पूरा भएपछि अनियमितता भएको पाइएमा उक्त कार्यक्रममा संलग्नमाथि मुद्दा दायर हुने सापकोटाको भनाइ रहेको छ । साइकल खरिदमा संलग्न अधिकारीहरूलाई छुट्टाछुट्टै बोलाएर बयान लिने गरेको उनले जानकारी दिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रदेश २ सरकारले २०७५ साल मंसीरदेखि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान कार्यक्रम शुरु गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !