१२ बैशाख २०८१, बुधबार

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च प्रवेश गर्न नदिने


चन्डेश्वर श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र पूर्णमान शाक्य

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ । शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले आज शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने हिजो घोषणा गरेको थियो ।

यद्यपि सर्वोच्चले थप सुरक्षा बल मगाएर कडाइ गरेकाले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । प्रहरीले बारबाट सर्वोच्च प्रवेश गर्ने भित्री ढोकामा नै अवरोध गरेमा कानून व्यवसायीहरु सडकबाटै सर्वोच्च अदालतको मुलगेटमा गएर धर्ना दिने रणनीतिमा बनाएका छन् ।

नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च प्रवेश गर्न नदिने जानकारी दिए । कानुन व्यवसायीहरु सर्वोच्चको मूलगेटमा धर्ना बसेर बसेर प्रधानन्यायाधीश जबरालाई छिर्न नदिने भएका हुन् । जसको लागि आज विहान ९ः३० बजे बारमा कानून व्यवसायीहरु भेला हुने भएका छन् ।

नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले सर्वोच्च परिसरमा हिजो सम्बोधन गर्दै आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताका थिए । यस्तै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि नेपाल बार परिसरमा बोल्दै आज सर्वोच्चमा प्रधानन्यायाधीश जबरालाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गरेको बताएका थिए ।

यसरी आज सर्वोच्च अदालत थप सुरक्षा बल मगाएर कानुन व्यवसायीहरुलाई प्रवेश नै गर्न नदिने योजनामा छ भने कानुन व्यवसायीहरु प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्ने नदिने रणनीतिमा भएकोले आज पनि झडप हुने प्रवल सम्भावना रहेको छ । हिजो विहीबार कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा भएको घकेलाधकेलमा हुँदा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश विचौलियाको नाइके : सर्वोच्च छिर्न नदिने बारको घोषणा

सर्वोच्च परिसरमा झडप : ६ जना कानुन व्यवसायी घाइते

बारको घोषणा : भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !