१३ बैशाख २०८१, बिहिबार

खानेपानी हो कि खोलाको ?


धारा

विराटनगर । नेपाल खानेपानी संस्थान शाखा कार्यालयले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ ।विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने गरेको पानी खान योग्य नभएको पाइएको हो । धारामा पानी निकै धमिलो र रातो जस्तो देखिने गरेकाले यहाँका बासिन्दा यो पानी खानेभन्दा अन्य काममा प्रयोग गर्न थालेका छन् ।

देवकोटा, तिनपैनी, मुनालपथ र रानी क्षेत्रको पानी ट्याङ्कीमा मुनालपथ बाहेकका सबै ट्याङ्की ४० वर्ष अगाडिका रहेको संस्थान प्रमुख शैलेन्द्र साहले बताउनुभयो । प्रत्येक ट्याङ्की ४५० घनमिटरका छन् । दैनिक विराटनगर क्षेत्रमा एक करोड २० लाख लिटर पानी वितरण भए पनि नगर क्षेत्रमा करिब दुई करोड लिटर पानीको माग रहेको उहाँको भनाइ थियो ।

देवकोटा पानी ट्याङ्कीबाट वितरण हुने पानी निकै फोहर, धमिलो र रातो माटो मिसिएको जस्तो देखिएकाले यसमा निर्भर उपभोक्ताले जार र बोतलका पानी प्रयोग गरिरहेका छन् । यसमा संस्थाले समयमै ध्यान दिनु आवश्यक रहेको स्थानीयवासी अर्जुन सुवेदीले बताउनुभयो ।

यस सम्बन्धमा संस्थानका प्रमुख साहले बाटो निर्माण गर्ने क्रममा केही ठाउँमा पानीका पाइप फुटेका कारणले यस्तो भएको हो, उपभोक्ताले पनि गुनासो गरिरहेको स्वीकार गर्दै सफा र खानयोग्य पानी वितरण गर्न संस्थान प्रतिबद्ध छ भन्नुभयो । उहाँले दिनमा तीन पटक वितरण गर्ने खानेपानीको न्यूनतम १० युनिटको महसुल रु ११० र यस अतिरिक्त प्रतियुनिट रु २५ लाग्ने संस्थानको नियम रहेको जानकारी दिनुभयो ।

वार्षिक रु सात करोडसम्म आम्दानी गर्न सफल खानेपानीले वितरण गर्ने पानीलाई सफा बनाउन र सुधार गर्न ‘जाइका’ नामक संस्थाले केही महिनापछि रु तीन अर्बको लगानीमा काम थाल्ने प्रमुख साहको भनाइ थियो । उहाँले यसका लागि विराटनगर महानगरपालिकाले वडा नं ५ मा जग्गा पनि उलब्ध गराइसकेकाले जाइकाले काम सम्पन्न गरेपछि विराटनगर क्षेत्रको खानेपानीको समस्या समाधान हुने जिकिर गर्नुभयो ।

केही वर्ष पहिले विराटनगरको खानेपानीमा जण्डिस हुने किटाणु देखिएपछि निकै समस्या भएको थियो भने यो समस्या पुनः दोहोरिन सक्ने उपभोक्ता रविन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खानेपानी हो कि खोलाको पानी हो छुट्याउन गाह्रो छ ।” खानेपानी संस्थाले यस्तो पानी वितरण गर्न थालेपछि विराटनगर क्षेत्रमा जार, बोतलको पानीको व्यापार भने फस्टाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !