७ बैशाख २०८१, शुक्रबार

कैलालीमा पशुलाई आहारको चिन्ता


पशुलाई आहार फाइल फोटो

भजनी । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन् । किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन् । केही पशुपालक किसानले लगाएको धानबालीमा समेत नराम्रोसँग क्षति पुगेको छ ।

कैलालीको टीकापुरका ललित थापाले भैँसीपालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँले भैँसीपालनसँगै घाँस खेतीका साथै धान खेतीसमेत गर्नुभएको थियो । बाढीका कारण उहाँले नत खेतमा लगाएको धान खेती जोगाउन सक्नुभयो, नत भैँसीका लागि लगाएको घाँस खेती ।

उहाँले भैँसीकै लागि भनेर दुई बिगाहामा घाँस खेती गर्नुभएको थियो । अहिले उहाँले केही दिनमै भएका ३२ भैँसी घटाएर २२ मा झार्नुभएको छ । भैँसीलाई खुवाउने आहारकै कारण भैँसी घटाउनुपरेको शिव बताउनुहुन्छ । “बाढीले व्यवसायबाटै विस्थापित हुने चिन्ता बढाएको छ । आफूलाई खानको लागि त किनेर पनि पाइन्छ तर, भैँसीलाई के खुवाउने होला ?” शिवले भन्नुभयो, “वर्षभरिलाई पुग्ने पराल बाढीले खत्तम बनायो । उता बीउ उत्पादनका लागि र भैँसीलाई खुवाउनको लागि लगाएको घाँस खेती पनि नष्ट भयो ।”

उहाँले आगामी दिनहरुमा उत्पादन घट्नुको साथै किसानको लागतमा उल्लेख्य वृद्धि हुने बताउनुभयो । “भिजेको धानको परालले भैँसीमा रोगको सङ्क्रमण फैलिने हुन्छ । त्यो पनि परालमा पाइने दुई प्रतिशतको प्रोटिनको मात्रा एक प्रतिशत पनि रहँदैन”, थापाले भन्नुभयो । राज्यले अन्य क्षेत्रमा भएको क्षतिको विषयमा सोचेको भएपनि पशुधनको बारेमा अझै गम्भीर नभएको बताएका छन् । यहाँका पशुपालक किसानले गाई भैँसीलाई खुवाउने भनेकै पराल हो । पराल र घाँस मिसाएर भैँसीलाई खुवाउनुपर्ने भए पनि बाढीका कारण परालमा आएको ह्रासले पशुपालक किसान निराश भएका छन् ।

भजनीका किसान दुर्गाप्रसाद जैशीको फार्ममा अहिले ४५ वटा गाई भैँसी छन् । गाई भैँसीका लागि खुवाउने मुख्य आहार भनेको नै पराल हो । विगतका वर्षहरुमा सहजैरुपमा किन्न पाइने पराल यो वर्ष पैसा तिरे पनि पाउन मुस्किल भएको दुर्गाप्रसाद बताउनुहुन्छ । “बाढीले लगाएको धानबालीमा क्षति हुँदा धान जसोतसो काम लगाए पनि पराल बचाउन सकिएन । यो वर्ष चिन्ता बढेको छ । व्यवसाय छोडेर जानसक्ने अवस्था पनि छैन”, दुर्गाप्रसादले भन्नुभयो, “अन्य किसानको जति मेरो क्षति भएको छैन । म परालभन्दा पनि घाँसखेती गर्ने भएकाले पनि मलाई समस्या छैन, तर, पीडित किसानको बारेमा राज्य गम्भीर हुन आवश्यक छ ।”

टीकापुरका चक्रबहादुर बटालाको भैँसी फार्ममा ४७ वटा गाई भैँसी छन् । यसपालि आएको बाढीले चक्रबहादुरको फार्ममा खासै क्षति भएन । उहाँले लगाएको घाँस र धानबाली भने आंशिकरुपमा क्षति भयो । उहाँको आफ्नो क्षति नभए पनि बाहिर किसानसँग पहिले नै बुकिङ गरेको पराल बटालाले फार्म भित्र्याउन पाउनुभएन । “मैले वर्षमा जति पराल खरिद गर्दै आएको छु, यस वर्ष पनि त्यसको समन्वय गरिसकेको थिए तर वर्षाका कारण भिजेको पराल गाईभैँसीलाई खुवाउन नमिल्ने भएपछि त्यो पराल ल्याउन सकेको छैन”, बटालाले भन्नुभयो, “आफूलाई त खानको समस्या नहोला तर, गाईभैँसीलाई के खुवाएर पाल्ने ? चिन्ता बढेको छ । बजारको दाना किनेर खुवाउने हो भने, उत्पादनभन्दा लागत दोब्बर बढी हुन जान्छ ।”

चिन्ता पालेका पशु चौपायालाई के खुवाउने भन्ने नै छ । किसानले बाढीले क्षति पु¥याएको धान भित्र्याए पनि पराल खेतमै जलाउन थालेका छन् । एकातिर किसान पराल काम नलाग्ने भएपछि चिन्तित छन् भने, अर्कोतिर भित्र्याएको धान सरकारको समर्थन मूल्यमा बिक्री गर्न पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन् । बाढीका कारण भएको क्षतिको उचित राहतको व्यवस्था हुन नसके कैयौँ व्यावसायिक किसान पेसाबाट नै वञ्चित हुने अवस्थामा पुगेको अर्का पशुपालक किसान रामशरण आचार्य बताउनुहुन्छ । उहाँले पालेका गाई भैँसीको आहार नपाउने चिन्ताले अहिले किसानले पालेका चौपाया बिक्रीका लागि पशु हाटबजारमा भीड नै लाग्ने गरेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !