४ बैशाख २०८१, मंगलबार

पाँचथर बस दुर्घटना (अपडेट) : २ जनाकाे मृत्यु, १४ जनालाई रेफर


पाँचथरमा बस दुर्घटना

फिदिम । पाँचथर जिल्लाको फिदिममा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये २ जनाकाे मृत्यु भएकाे छ । आज सोमबार बिहान फिदिम–४ सरखण्डेमा बस सडकबाट खस्दा ६४ जना घाइते भएका थिए । समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए ।

पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथर स्रोतले जानकारी दिएको छ । उक्त बसले सिबाखाेलाबाट फिदिम मान्छे लिएर आउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वाकर्माले बताए ।

गम्भीर घाईते भएका ४ जनाकाे सुबिधा सम्पन्न अस्पतालमा रेफर गरिएकाे छ भने १० जनालाई रेफर गर्ने तयारी गरिएकाे प्रहरीले बताएकाे छ । यद्यपि गम्भीर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लानकाे लागि एम्बुलेन्स तथा जिपकाे अभाव भएकाे प्रहरीले बताएको छ ।

केहि घाईतेहरूकाे पाँचथर अस्पताल, पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेकाे छ । उक्त बसले अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियोे ।

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुहोस्

पाँचथरमा यात्रुवाहक बस दुर्घटना : ६२ जना घाइते


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !