७ बैशाख २०८१, शुक्रबार

पाँचथरमा यात्रुवाहक बस दुर्घटना : ६२ जना घाइते


पाँचथरमा बस दुर्घटना

फिदिम । पाँचथर जिल्लाको फिदिममा यात्रुवाहक बस दुर्घटना भएको छ । आज सोमबार बिहान फिदिम–४ सरखण्डेमा बस सडकबाट खस्दा ६२ जना घाइते भएका छन् भने घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथर स्रोतले जानकारी दिएको छ । उक्त बसले सिबाखाेलाबाट फिदिम मान्छे लिएर आउदै गर्दा दुर्घटना परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वाकर्माले बताए ।

घाइते भएकाहरुको पाँचथर अस्पताल, पाथिभरा अस्पताल तथा समर्पित अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

उक्त बसले अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियोे । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ ।

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !