७ बैशाख २०८१, शुक्रबार

हुम्लाको तुम्लिङमा फसे ४ जना विदेशीसहित १२ जना पर्यटक


हुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्य फाइल फोटो

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका ४ जना नागरिक, ३ जना पथप्रदर्शक र ५ जना
स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् ।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन् । असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो । आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताए ।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !