८ बैशाख २०८१, शनिबार

महाकालीवाट सेनाले उद्धार गरेकाहरुले भने- धन्य सेना आएर बचाए


महाकालीवाट सेनाले उद्धार

महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित ५ जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उनकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो ।

सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन ।

सेनाले डोरीको सहायताबाट उद्धार गरेपछि खुसीले भक्कानिँदै स्थानीय शान्ति नायकले आफूहरुले दोस्रो जीवन पाएको बताए । “रातभरि बगेर आएको रुखको सहरामा बस्यौँ”, उनले भने, “बाँचिएला भन्ने आश मरिसकेको थियो ।” उनले आफ्नो परिवार लामो समयदेखि कुखुरापालन र कृषि कार्य गर्दै आएको बताए ।

करिब ४५ देखि ५० परिवार रहेको मसेटट्ीमा बाढीको त्रासदीपछि सोमबार राति कसैको पनि घरमा चुल्हो नबलेको स्थानीय हरिस साउँदले बताए । उनले बाढीले एक दर्जन घरसमेत महाकालीले बगाएको बताए ।

स्थानीयले राति नायक परिवार थुनिएको थाहापाएलगत्तै स्थानीय प्रशासनमा खबर गरेको साउँदको भनाइ थियो । आज दिउँसो पछि त टेलिफोन र बिजुलीसितको पनि सम्बन्ध विच्छेद हुँदा झन् तनाव भयो ।” स्थानीय गोमती धामीले भने, “हेलिकप्टर आएको देखेपछि खुसीको सीमा रहेन ।” उनले गाउँलेको जीवन बचाउन सहयोग गरेकोप्रति सेनाको टोलीलाई धन्यवाद दिए ।

सेनाले मसेट्टीको साँघुरो खेतमा हेलिकप्टर ल्याण्ड गरेर उद्धार थालेको थियो । पहिलो चरणमा सेनाले उद्धार गरेकी दीर्घमती देवी खड्काले सेना उद्धारका लागि आएको देख्दा भगवान् आएको अनुभूति भएको बताए ।

“रातभर भगवान्को नाम जपेर बस्यौँ”, उनले भने, “जिन्दगी यत्ति हो भन्ने लागेको थियो, धन्य सेना आएर बचाए ।” उहाँले आफूहरु महाकालीमा थुनिएको पीडा शब्दले व्यक्त गर्न नसक्ने बताए ।

महाकाली नदीमा दशकौँयता सबैभन्दा ठूलो बाढी आएको थियो । आज दिउँसो नदीमा पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । अहिले पानी घट्ने क्रममा छ । महाकालीमा आएको बाढीका कारण तटीय क्षेत्रमा डुबान पर्नुका साथै जोखिम बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !