७ बैशाख २०८१, शुक्रबार

महाकाली नदीका बाढीमा फसेका ५ जना रुखमा : उद्धार गर्न आग्रह


महाकाली नदीका बाढी

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ ।

स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ ।

बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ । यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यायमा सरेको छ ।

सुकाएको धान बगायो

लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् ।

नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए । “केही ठाउँमा दोदा नदीको पानी पसेपछि बग्यो,” उनले भने, “केही ठाउँमा वर्षाको पानीले बगाएर धान नदीमा पुर्यायो । निकै ठूलो क्षति भएको छ । पानी पर्न थालेको ४८ घण्टा बित्न लागेको छ । पूरै खेत र बस्ती जलमग्न छन् । काटेको सबै धान बगेको छ ।”

नेपाली कांग्रेसका लाझाडी गाउँ कार्यसमितिका सभापति श्रीकृष्ण रानाका अनुसार धानबाली पूरै नदीमा बगेको टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन । “निकै ठूलो नोक्सानी भएको छ । किसानले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । नदी गाउँ पस्दा विगतमा डुबानमा पार्ने गरेको थियो । खेतमा लगाएको बाली नै बगाएर लगेको थिएन । यस बर्ष बाली भित्र्याउने तर्खर सुरु हुनै लाग्दा पूरै बग्यो,” उनले भने ।

स्थानीय लक्ष्मण रानाले दश कट्ठा जग्गामा लगाएको धानबाली पूरै नदीले बताएको बताउनुभयो । काटेर सुकाउन राखेको धानसँगै मुठा बाँधेर राखेको धानसमेत बगेको उहाँले बताए । “पानी पर्दै गरेकाले खेतमा बग्न बाँकी रहेको धानसमेत थन्क्याउन सकिने अवस्था छैन । घुँडाभन्दा माथि पानी छ,” उनले भने, “कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।” स्थानीय किसानले सरकारसँग धानको क्षतिपूर्ति र तत्काल राहत उपलब्ध गराउन मागसमेत गरेका छन् ।

दोदा नदीको जलस्तर अहिले ३ दशमलव ५ मिटर रहेको छ । नदीको पानीले चेतावनी तह पार गरेको छ । अझै वर्षा भए नदी गाउँपालिका क्षेत्रका गाउँमा पस्ने खतरासमेत बढेको छ । गाउँपालिकाका होचा ठाउँमा भने नदीको बाढीको पानी पसेको छ । नदीले जग्गा कटानको कार्यसमेत तीव्र रुपमा गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !