६ बैशाख २०८१, बिहिबार

दुर्घटनाबाट भएको यात्रुको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरका साथै कास्की, अछामलगायतका स्थानमा भएको दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन् ।

उनले विज्ञप्ति प्रकाशन गरी भनेका छन्, “दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

साथै उनले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । अध्यक्ष प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।

नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटना बढ्दै गइरहेको भन्दै उनले दुर्घटना न्यूनीकरण गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !