७ बैशाख २०८१, शुक्रबार

मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बृद्धि


विद्यालय

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ ।

शिक्षा समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । यसै वर्षदेखि लागू हुनेगरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधीनराज बुढाथोकीले जानकारी दिनुभयो । जसमा विद्यालय सहायक कर्मचारीका लागि सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक पारिश्रमिक रु १७ हजार निर्धारण गरिएको हो । प्रारम्भिक बाल विकास सहजकर्ताका लागि आठ हजार र नगरपालिकाबाट सात हजार थप गरी रु १५ हजार निर्धारण गरिएको छ ।

त्यस्तै नगरपालिकाबाट नियुक्त गरिएका बाल विकास सहजकर्ताका लागि नगरपालिकाबाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयका सहयोगीलाई सङ्घीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट रु पाँच हजार ५०० थप गरी रु १२ हजार निर्धारण गरिएको छ । कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीहरुलाई सङ्घीय सरकारबाट प्राप्त नौ हजार ५०० र नगरपालिकाबाट पाँच हजार थप गरी रु १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

बाढी प्रभावितलाई सहयोग

मेलम्ची बाढी प्रभावितलाई सहयोग गरिएको छ । मेलम्चीका युवा व्यवसायी रोमन कार्कीको पहलमा टिम ह्याप्पी फेमेली क्लबले मेलम्ची–६ नेपाने र मेलम्ची– ११ का बाढी प्रभावितलाई एक लाख सहयोग गरेको हो ।

नेपानेको १७ र मेलम्चीको ११ को एक परिवारलाई सहयोग गरिएको कार्कीले जानकारी दिनुभयो । घर भत्किएका तथा अन्य क्षतिका आधारमा पाँच तथा ६ हजारका दरले मङ्गलबार नगद हस्तान्तरण गरिएको कार्कीको भनाइ छ । त्यस्तै रेडियो मेलम्चीका लागि पनि रु १० हजार सहयोग प्राप्त भएको छ । सहयोगप्रति मेलम्ची–६ का स्थानीयवासी भीमसेन थापाले आभार प्रकट गर्नुभयो । यसअघि पनि क्लब र कार्कीले विभिन्न सहयोग गर्दै आउनुभएको छ ।

यता इन्द्रेस्वरीमा बी बौद्धिक अपाङ्गता स्रोत कक्षाका २५ विद्यार्थीलाई जाडोको लुगा सेट र झोला वितरण गरिएको छ । अस्ट्रेलिया रहनुभएका मेलम्ची–११ निवासी सुमन श्रेष्ठ र त्यहाँ रही अपाङ्गता क्षेत्रमा काम गर्नुहुने जेम्सको सहयोगमा प्राप्त २५ विद्यार्थीलाई ट्र्याक सुट र झोला मङ्गलबर इन्द्रेश्वरी माविका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले वितरण गर्नुभएको हो । साथै रेडियो मेलम्चीलाई पनि रु पाँच हजार श्रेष्ठका दाइ सुदर्शन श्रेष्ठले हस्तान्तरण गर्नुभयो । सहयोगी पूर्वविद्यार्थी श्रेष्ठ र जेम्सप्रति प्रधानाध्यापक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !