८ बैशाख २०८१, शनिबार

हत्या आरोपमा दुई पक्राउ


पक्राउ

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराउनुभएको थियो । किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण

असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १६५ विरुवा रोपण गरिएको हो ।

वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पाललगायत प्रहरी अधिकृत र कर्मचारी सहभागी रहेका थिए । जिल्लाका अन्य प्रहरी युनिटले पनी आ–आफ्नो कार्यालय परिसरभित्र वृक्षरोपण गरेको प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । एक प्रहरी एक वृक्षरोपणअन्तर्गत वृक्षरोपण गरिएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिँडडुुल गरिरहेका ३०० नागरिकलाई मास्क वितरण गरी सम्झाइबुझाइ गरी पठाएको बताइएको छ । ‘नेपाल माक्स अभियान’ अन्तर्गत ‘तपाईको माक्स खै’कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय पाटनले पनि २०० थान माक्स वितरण गरेको छ । दसैँतिहारको समयमा भीडभाड बढी हुने भएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !