७ बैशाख २०८१, शुक्रबार

सातौँ संविधान दिवस: सिंहदरबार घरआँगनमा पुगेको अनुभूति


संविधान

मोरङ । नेपालको संविधान जारी भएपछि नागरिकले आआफ्ना घरआँगनमा सिंहदरबार आएको अनुभूति गरेका छन् । संविधानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि निर्मित तीन तहका सरकारमध्ये स्थानीय सरकारबाट सुविधा प्राप्त भएपछि जनता खुशी छन् ।

संविधानअनुरुप निर्माण भएको प्रदेश नं १ का १४ जिल्लामा १३७ स्थानीय तहअन्तर्गत महानगरपालिका एक, उपमहानगरपालिका दुई, नगरपालिका ४६ र गाउँपालिका ८८ का एक हजार ५७ वडामा ४५ लाख ४३ हजार ९४३ जनताको बसोबास छ । संविधानले दिएको अधिकारमा जनताले नागरिकता र राहदानीबाहेक अन्य सबै प्रकारका सेवासुविधा घरपायक पालिकाबाट प्राप्त गरिरहेका छन् । पालिकाबाट सबै सुविधा पाउन थालेपछि जनता सदरमुकाम धाउन छाडेका छन् ।

प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक विकासका लागि गरेका कार्यसमेत उल्लेखनीय छ । नागरिकको सहजतालाई प्रदेश सरकारको बहुवर्षीय गौरवको आयोजनाअन्तर्गत घिनाहाटघाट– विराट चोक २२ दशमलव पाँच किलोमिटर लम्बाइ र १६ मिटर चौडाइको सडक निर्माणाधीन छ । सो बाटो निर्माणसँगै यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आउने झोराहाट निवासी तुलसी चौधरीले बताउनुभयो ।

यसैगरी खेलकूदप्रति युवालाई आकर्षित गराउन विराटनगरको शहीद रङ्शालामा रात्रिकालीन बत्ती जडान सम्पन्न भएको छ । प्रदेश सरकारले नागरिकलाई सहज आवतजावत गराउन विभिन्न जिल्लामा प्रादेशिक निर्वाचन क्षेत्र लक्षित बहुवर्षीय ६२ सडक आयोजना (८८४ दशमलव पाँच किमी) सडक अन्तर्गत ५१ वटाको सम्झौता भई कार्य शुभारम्भ भएको छ । वर्षात्मा जनतालाई खोलामा सहज आवतजावतका लागि केन्द्रबाट हस्तान्तरित चारसहित ३६ झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको छ ।

प्रदेश सरकारले २०८ विद्यालयमा स्मार्ट कक्षा व्यवस्थापन गरी सञ्चालन गरेको छ जसबाट यस क्षेत्रका बालबालिकाले विश्वस्तरको ज्ञान प्राप्त गरी सक्षम नागरिक निर्माण हुने आशा गरिएको छ । यस क्षेत्रमा विज्ञान शिक्षकको कमीको कारण अध्ययनमा भएको बाधा हाटाउन २८ माध्यमिक विद्यालयमा शिक्षकको व्यवस्था गरिएको तथा ९२४ शिक्षकलाई पेशागत क्षमता विकास तालीम प्रदान गरिएको छ ।

आर्थिक समस्याका कारण उच्च शिक्षा अध्ययनमा समस्यामा परेका अपाङ्गता भएका ६४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाबाट यस क्षेत्रका उद्योगलाई आवश्यक प्राविधिक जनशक्ति पदपूर्ति गर्नाका साथै रोजगारी वृद्धि गरी जनतामा क्रयशक्तिको समेत वृद्धि गर्ने छ । दुर्गम र पहाडी क्षेत्रमा प्राविधिक शिक्षाको अध्ययनअध्यापनबाट दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन प्राविधिक विश्वविद्यालयले मद्दत गर्ने विश्वास लिन सकिन्छ । सोअन्तर्गत प्रदेशका हिमाली तथा पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ्, सङ्खुवासभा, भोजपुर, तेह्रथुम र सोलुखुम्बुमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ । प्रदेशका ४१ विद्यालयमा भवन निर्माण र मर्मतसुधार अगाडि बढाइएको छ ।

स्थानीय तहको साझेदारीमा एक हजार ५५६ महिला र एक हजार २४४ पुरुषलाई प्रदेश ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममार्फत दाँत लगाइने कार्यक्रमले हाँसो हराएको नागरिकले हाँस्न पाएका छन् । प्रदेश सरकार गठनपछि प्रदेशमा प्रयोगशालासहित ४० नागरिक आरोग्य केन्द्र स्थापना स्थापना गरिएको छ । यसैगरी आयुर्वेद सेवा सुदृढीकरणका लागि स्वास्थ्य आयुर्वेद स्वास्थ्य केन्द्र झापा, मोरङ, उदयपुर र इलाम औषधालयमा करारमा जनशक्ति व्यवस्था गरिएको छ ।

कोरोना महामारीमा जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको यस क्षेत्रमा गरेको कार्यबाट देखिन्छ । प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि एचडियु, आयुसियु तथा भेन्टिलेर सेवासहित विराटनगरमा कोशी अस्पताल(कोभिड उपचार) केन्द्रमा सञ्चालनमा ल्याएको छ ।

यस्तै मेची अस्पताल भद्रपुर झापाको स्तरोत्रति गरिनाका साथै प्रदेशका अन्य जिल्ला अस्पताल, स्वास्थ्यचौकीमा आवश्यक सुरक्षा सामग्रीलगायत उपचार, औजार र औषधिसमेत व्यवस्था गरिएको छ । कोरोना परीक्षणको दायरालाई फराकिलो पार्न प्रदेश सरकारले छ स्थानमा पिसिआर परीक्षणको व्यवस्था मिलाएको छ ।

कोरोना समुदायमा नफैलियोस् भन्नाका लागि जिल्ला अस्पतालमा न्यूनतम १० शय्याको आइसोलन केन्द्र स्थापना गरिनाका साथै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सचेतनामूलक सन्देश प्रचारप्रसार गरिएको छ । प्रदेशका सबै जिल्लाका नागरिकलाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जनताको स्वास्थ्य परीक्षण सहज, गुणस्तरीय र विश्वसनीय बनाउनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गरिनाका साथै आफ्नो भवन निर्माण शुरु गरिएको छ ।

प्रदेश नं १ सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जनताको स्वास्थ्यप्रति सरकार सचेत भएकाले अहिलेसम्मका प्रदेशका २० प्रतिशत जनतालाई कोभिडविरुद्धको खोप लगाइएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६० प्रतिशत जनतालाई खोप लगाउने लक्ष्यानुरु कार्य भइरहेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीले नागरिकलाई आफ्नो सरकार छ भन्ने अनुभूति गराउन कोरोना महामारीको पहिलो तथा दोस्रो लहरमा निःशुल्क पिसिआर परीक्षण, अक्सिजन तथा वडामा कोरोनाविरुद्धको खोपको व्यवस्था गरिएको बताउनुभयो । विराटनगर– ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने नागरिकले आफ्नो घरनजीकको स्वास्थ्यसहितको सम्पूर्ण सुविधाप्राप्त गरेकाले सङ्घीयताको सफल कार्यान्वयन हुँदै गरेको मत राख्नुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !