६ बैशाख २०८१, बिहिबार

बिरामीलाई अस्पताल पुर्याउन न बाटो छ, न सवारी साधन


चुरे दोहन

सर्लाही । चुरे क्षेत्रका स्थानीयवासीले बिरामी बोक्न अझै झोलुङ्गोको भर पर्नुपर्ने बाध्यता छ । भौगोलिक विकट जिल्लाको चुरे क्षेत्रका बस्तीमा बिरामीलाई स्वास्थ्य सस्थासम्म पुर्याउन अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको छ ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटक–पटक बनाएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षा लागेपछि खोलाको बाटोसमेत बन्द भएपछि उनीहरूले अझै झोलुङ्गोमा बिरामी बोकेर अस्पताल ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ । सो क्षेत्रमा व्यवस्थित स्वास्थ्य संस्था नहुँदा त्यहाँका नागरिक सास्ती व्यर्होन बाध्य भएका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका वडाध्यक्ष नागेन्द्र पाख्रिनले बताए । उनका अनुसार सो क्षेत्र भौगोलिक विकटताका कारण पछाडि परेको र अहिले बाटो निर्माण सुरुआत भएको छ ।

सो क्षेत्रका बिरामीलाई अस्पताल लैजान न त बाटो छ, न सवारी साधन नै सञ्चालन भएका छन् । बिरामीलाई अस्पतालसम्म लैजान एम्बुलेन्स त परको कुरा, बाटोसमेत नहुँदा समस्या भएको छ । चिकित्सकसमेत सो क्षेत्रमा जान नमान्ने गरेका पाइएको लालबन्दी नगर स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।

गाउँवासी मिलेर बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी परे झोलुङ्गोमा पालैपालो बोकेर पूर्व–पश्चिम लोकमार्ग छेउछाउमा भएका स्वास्थ्य संस्थामा पुर्याउन आफूहरु बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

ईश्वरपुर नगरपालिकास्थित साविक कालिञ्जोर गाविसमा पर्ने पिपदमार, लामिदमार, फूलजोर शिर, छोड्के, गुइडुङलगायतका आधा दर्जन बढी बस्तीमा यस्तो समस्या छ । हिउँदयाममा जसोतसो बगरको बाटो हिँड्न सकिए पनि वर्षामा बाढीमा हेलिनुको विकल्प नरहेको स्थानीय चन्द्र वाइवाले बताए ।

हरेक वर्ष करिब तीन-चार महिना बाढीमा हेलिएर पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी बजारसम्म ओहोरदोहोर गरिरहेका छन् । केहीले जोखिमपूर्ण यात्रा गर्दै खाद्यान्न ढुवानी गर्ने ट्र्याक्टरमा समेत यात्रा गर्ने गरेको लालबन्दी –१४ का वडाध्यक्ष सुवाइसिंह ब्लोनले बताए । उनका अनुसार यात्रा गर्दा बाढी आइहाले बीचबाटोमा अलपत्र पर्नुबाहेक अरु विकल्प सो क्षेत्रका नागरिकमा छैन ।

गत असारदेखि नै खोलामा लगातार जसो बाढी आउँदा स्थानीयवासीलाई आउजाउ गर्न मुस्किल परेको उनले जानकारी दिनुभयो । “सामान्य बिरामीको गाउँमै प्राथमिक उपचार हुने गरेको छ, तर गम्भीर बिरामीलाई भने पत्थरकोटको छेडासम्म बोकेरै लैजाने गरेका छौँ ।”

छेडासम्म पुग्न शिर कालिञ्जोरका स्थानीयवासीलाई पाँच घण्टा र तल्लो भेगका स्थानीयवासीलाई तीन घण्टासम्म लाग्ने उहाँको भनाइ छ । सडक सञ्जालले नजोडिएका कारण यस क्षेत्रमा विकास निर्माणले समेत गति लिन नसकेको स्थानीयवासीको गुनासो छ ।

बिरामी बोकेर अस्पतालसम्म पुर्याउनकै लागि वडा कार्यालयले साविक नारायणखोला गाविसको नौवटा वडामा एक–एक थान र मोटरदोभानमा रहेको स्वास्थ्यचौकीलाई एक थान स्टेचर उपलब्ध गराएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताए । उनका अनुसार बर्खायाममा लालबन्दी–१४ र १५ का स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको छ ।

लालबन्दी–१५ को शिर कालिञ्जोर, कोरेखोप, भित्रीखोला, बाहुनीडाँडालगायतका बस्तीमा पनि यस्तै समस्या रहेको लालबन्दी– १५ का वडाध्यक्ष गोरखबहादुर बलले बताए । उनका अनुसार हिउँदमा खोलैखोला बगरको बाटो गाडी सञ्चालन भए पनि बर्खामा भने आफ्नै नगरपालिकासँग सम्पर्क टुट्ने गरेको छ ।

यस्तै हरिवन नगरपालिका–१ मा पर्ने बेलडाँडा, वनमारा, सखुवनी तथा बागमती नगरपालिका–१ स्थित डुमाजोर शिरका स्थानीयवासी पनि बर्खायाममा यातायात सेवाबाट बञ्चित हुनुपर्ने समस्या रहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !