७ बैशाख २०८१, शुक्रबार

दुहुँमा बाढीपहिरो : खाद्यान्न सङ्कट


बाढी

दार्चुला । बाढीपहिराले लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि यहाँको दुहुँ गाउँपालिका अन्धकारमय बनेको छ । यही भदौ १३ गतेको बाढीले गाउँपालिका भित्रका पाँच जलविद्युत् आयोजनाका संरचना बिगारेको थियो ।

राष्ट्रिय प्रसारण लाइनले केही वडा जोडिएको भए पनि बाढीपहिराले पोल ढालेपछि गाउँपालिका दिनदेखि स्थानीयवासीले बत्ती बाल्न पाएका छैनन् । अहिले गाउँमा मोबाइल चार्ज गर्न निकै सास्ती भएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कालागाड ४३, कालागाड ब्रह्मदेव दोस्रो ४५ , ब्रह्मदेव ५० , भास्कर पिपलचौरी भाडी ४० र सुत्खोला लघुजलविद्युत् १० किलोवाट पूर्णरूपमा ध्वस्त भएको जनाइएको छ ।

गाउँपालिकाभरि विद्युत् पहुँच पुगेको छ गाउँपालिकामा तत्काल राष्ट्रिय प्रसारण लाइन जोड्न विद्युत् प्राधिकरण दार्चुलालाई आग्रह गरिएको उहाँले बताउनुभयो । अध्यक्ष कार्कीले भन्नुभयो, “गाउँपालिकाभरि विद्युतीकरणको काम अघि बढाउन आग्रह गरेका छौँ । बिहीबारसम्म प्राविधिक टोली फिल्डमा खटिने जानकारी आएको छ ।”

४५ घर भत्किए, १०० घरधुरी जोखिममा

बाढीपहिराबाट यहाँका ४५ बढी घर भत्किएका छन् । गाउँपालिकाको वडा नं १, २, ३ र ५ का अधिकांश घर भत्काएको हो ।

अफरे, नसलीलगायतका स्थानीयवासीलाई गौरीलमाण्डौँ मावि हिकिलामा राखिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो । यस्तै सुत्कोलालगायतका पहिरोपीडितलाई तितराडी र लिखाडमा राखिएको छ । वडा नं १ पिपलचौरीका बाढीपीडितलाई विद्यालयकै भवनमा राखिएको छ । यस वर्ष गाउँपालिकाको सबैभन्दा बढी क्षति वडा नं ३ र ५ मा भएको छ । मङ्गलबार राति पनि दुई÷तीना घर पहिराले ध्वस्त भएको छ ।

गाउँभरि सयौँ पहिरो फुटेको छ । एक गाउँबाट अर्को गाउँ जानसम्म बाटो छैन, दुहुँ–५ मा सबैभन्दा बढी जोखिममा छ । बाटोघाटो नै नभएपछि गाउँपालिका र स्थानीय श्रमशिविर लगाएर बाटो खोल्ने काम थालनी गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही गाउँपालिकामार्फत र केही श्रमरोजगार चलाएर बाटो खोल्ने तयारी गरेका छाँै ।” बाढीले गाउँपालिकाभित्रका सातवटा झोलुङ्गे पुल बगाएको छ । झोलुङ्गे पुल बगाएको ठाउँमा काठेपुल लगाउने तयारी गरेका छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो । यस्तै वडा नं ५ को गुना आधारभूत विद्यालय जोखिममा रहेको बताइएको छ ।

बाढीपहिराका चपेटामा परी गाउँपालिकाभरिका सात योजना ध्वस्त भएका छन् । अहिले आधा दर्जन बढी बस्तीमा अहिले पानीको हाहाकार छ । गाउँपालिकाको सुत्खोला, दुल्ला, सिमार, लिखाड, गुना अफरे बन्तोलीलगायतका बस्तीमा खानेपानी हाहाकार भएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । वडा नं २ र ५ का ३०० घरधुरीमा खानेपानी समस्या भएको छ । पहिराले खानेपानी योजना बगाएपछि अहिले स्थानीयवासीले खोलाबाट आउने पानी पिउन बाध्य छन् ।

दुहुँमा बल्ल सुरक्षाकर्मी पुगेका छन् । सदरमुकाम खलङ्गाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली दुहुँको बाढीपहिरो निरीक्षण उद्धारमा खटिएको हो । बाढीपहिरो आउने क्रम नरोकिएको तथा उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष कार्कीले बाढीपहिराले क्षतविक्षत बनेको गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको छ । भदौ १३ गतेको पहिराले दुहुँसम्म सडक तथा बाटो अवरुद्ध भएको जनाउँदै खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न प्रशासनलाई आग्रह गर्नुभएको हो ।

गाउँ जाने पुलपुलेसा बाटोघाटो सबै अवरुद्ध छ । उहाँले तत्काल गाउँसम्म सडक सञ्चालन हुन नसक्ने भएको हुँदा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि प्रशासनलाई सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । गाउँपालिकाले तत्काललाई १०० क्विन्टल चामल, पाँच क्विन्टल दाल, २०० लिटर तेल, पाँच क्विन्टल नुन र पाँच हजार मिटर पाइप ढुवानी गर्न माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !