७ बैशाख २०८१, शुक्रबार

प्रतिरक्षा र मदन भण्डारी विश्वविद्यालयको निर्माण प्रक्रिया तीव्र


जननेता मदन भण्डारी

काभ्रेपलाञ्चोक । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्माण गरिने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

त्यस्तै मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि पनि जिल्लाको पाँचखाल र पनौतीमा आवश्यक प्रक्रिया सुरु गरिएको बताइएको छ । नेपाली सेनाका अनुसार पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन विधेयककको मस्यौदासमेत तयार भइसकेको छ ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्विद्यालयको सङ्काय र अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकासका लागि प्रक्रियासमेत थालिएको बताउनुभएको छ । उहाँका अनुसार पाठ्यक्रम निर्माणका लागि चार विज्ञलाई छनोट गरिएको र बाँकी सात विज्ञ लिने प्रक्रियासमेत थालिएको छ ।

राष्ट्रिय सुरक्षासम्बद्ध सञ्जालको विकास गर्नुका साथै रणनीतिक संस्कार (स्ट्रयाटे«जी कल्चर) र उच्चस्तरीय नागरिक–सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने महत्वकांक्षी योजनासहित विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।

आर्थिक वर्ष २०८०/८१ भित्र विश्वविद्यालयका संरचना तयार गरी पहिलो चरणको तालिम सञ्चालन गर्ने गरी प्रक्रियागत कार्यलाई तीव्रता दिइएको जनाइएको छ । प्रवक्ता पौड्यालका अनुसार विश्वविद्यालयको आधारभूत साङ्गठनिक संरचना तयार गरी विस्तृत संरचनामा लागिएको छ ।

आव २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरी वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)सहितका प्रक्रिया अघि बढाइएको थियो ।

चालु आवमा रु ५८ करोड बजेट विनियोजन गरिएकामा यो वर्ष प्रतिष्ठान भवन र पुस्तकालय निर्माण गरिने पौड्यालले जानकारी दिनुभयो । उक्त विश्वविद्यालयको निर्माण सम्पन्न गर्न कूल रु सात अर्ब लाग्ने अनुमान गरिएको छ ।

यस्तै पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ‘ग्लोबल टेण्डर’ मार्फत गराइने प्रक्रिया थालिएको छ । ग्लोबल टेण्डरका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ ।

गत आर्थिक वर्षमा विनियोजित रु एक अर्ब २० करोडबाट पाँचखालमा निर्माण गरिने विश्वविद्यालयको डिपिआर तथा चित्लाङमा निर्माण सुरु गरिएको पूर्वाधार निर्माण भइरहेको छ ।

विश्वविद्यालयका लागि चालु आर्थिक वर्षमा रु एक अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । यो बजेटको करिब १० प्रतिशत चित्लाङमा निर्माण हुने विश्वविद्यालयको एउटा इञ्जीनियरिङको शाखासमेतको हो ।

समितिका अनुसार विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको भएकाले डिपिआर नै ग्लोबल टेण्डरमार्फत गर्न लागिएको छ भने डिपिआरको लागत ठेकेदार कम्पनी आफैँले समितिसँग प्रस्ताव गर्नुपर्नेछ ।

काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले १० हजार रोपनीभन्दा बढी जमिनमा बहुवर्षीय योजनाअनुरुप निर्माण हुन लागेको विश्वविद्यालयको भौतिक संरचनासमेत अन्तर्राष्ट्रियस्तरको हुने बताउनभयो ।

“प्रतिरक्षा विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय राष्ट्रिय गौरवका आयोजना हुन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार विश्वविद्यालयको परियोजना सम्पन्न गर्न रु ४३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

विविका लागि शिक्षण, मेडिकल कलेज र अस्पतालका लागि आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ ।

विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल (हस्तान्तरण)को नामसारी भइसकेको हो ।

तत्कालीन मन्त्रिपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको छ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरेको थियो ।

सोहीअनुसार २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो । सोही निर्णयानुसार अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा स्थापित गर्न पाँचखाल र नमोबुद्ध नपाको सीमामा अवस्थित उक्त परिमाणको जग्गा विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहने गरी जिल्ला मालपोत कार्यालयलाई जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

मदन भण्डारी विश्वविद्यालय निर्माणार्थ चिनियाँ सरकारले पनि सहयोग गर्न इच्छुक देखाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो ।

यस्तै काभ्रेपलाञ्चोककै पनौती नगरपालिका–१ चिसापानीमा मदन भण्डारी प्राद्योगिक विश्वविद्यालय शैक्षिक/प्रशासनिक भवन निर्माणका लागि इआइए तयारीका लागि क्षेत्र निर्धारण गर्न हालै सार्वजनिक सूचना जारी गरिएको छ ।

चमेना गृह ब्लक, सपिङ कम्प्लेक्स, स्वीमिङ पुल, मनोरञ्जन सुविधा, सीमा पर्खाल, टेवा गारो÷नदी प्रशिक्षण संरचना, पानी आपूर्ति÷सरसफाइ प्रावधान, सुरक्षाका अवयव, स्टाफ आवास, खेलमैदान, अनुसन्धान केन्द्र र सूचना–सञ्चार प्रविधि केन्द्र निर्माण गर्न एक हजार ६५१ रोपनी जमिनमा सीमाङ्कन गरिएको छ । बाँस्कोटका अनुसार पाँचखाल र पनौतीमा निर्माण हुने विश्वविद्यालयका सङ्काय फरकफरक हुन् ।

सूचनामा स्थानीय तह, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्तिसँग राय÷सुझाव मागिएको छ । विश्वविद्यालय सञ्चालनपछि नेपालमै विज्ञान तथा प्रविधिमा उच्चस्तरको अनुसन्धान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गरी नेपालबाट यस्तो जनशक्ति पलायन हुने क्रम न्यूनीकरण हँुदै जाने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !