१२ बैशाख २०८१, बुधबार

राज्यमन्त्री श्रेष्ठको जानकारी : पन्ध्र प्रतिशत नागरिकलाई कोभिडविरुद्धको पहिलो मात्राको खोप


उमेश श्रेष्ठ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै हालसम्म २८ लाख ८८ हजार ३६० नागरिकले उक्त मात्राको खोप लगाइसकेको जानकारी दिनुभएको हो । कोभिडविरुद्ध दीर्घकालीन र अल्पकालीन योजना सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेरमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको बताउनुभयो । उहाँले थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति हुने बताउनुभयो ।

उहाँले कोभिड सुरु भएदेखि अस्पताल जान धक मान्ने भएकाले कोभिड नभएका अन्य विरामीको सुरक्षित उपचारको व्यवस्था मिलाइएको र भेन्टिलेटर तथा अक्सिजन थप गरिएको बताउनुभयो । उहाँले खोप व्यवस्थापन गर्दै ठूला सहरमा खोप दिने तयारी रहेको र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिन लागिएको छ । गाउँ र नगरस्तरीय खोप व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !