धनुषामा श्रीमतिमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई अदालतबाट दोषी ठहर Nepalpatra धनुषामा श्रीमतिमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई अदालतबाट दोषी ठहर
५ आश्विन २०७८, मंगलबार

धनुषामा श्रीमतिमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई अदालतबाट दोषी ठहर


शरीरमा एसिड

धनुषा । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २७ वर्षीय सञ्जीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गङ्गाकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार सोही घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको छ । गत कात्तिक २९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो । घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।

दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी तीनवटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकामा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो ।

यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानुन व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जीवलाई सजायका लागि पेसी हुने बताए ।

अदालतले दोषी ठहर गरिसकेपछि अब अर्काे पेसीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । “सजायको सन्दर्भमा सरकारी वकिलबाट प्रतिवेदन माग गरिएको छ”, उनले भने, “त्यो पेस भएपछि सजाय तोकिनेछ ।”

चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नाका साथै घाँटी, छाती लगायतका शरीरको आधी अङ्ग जलेर कुरुप बनेका छन् ।

एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकामा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताए । केही वर्षअघि पनि सञ्जीवले मट्टितेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा